आठौँ चौँरी पर्यटन महोत्सव वैशाख १ गते हुने

आइतबार, १७ चैत्र २०८१
पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका ४ चाररातेमा आगामी वैशाख १ गते आठौं चौंरी पर्यटन महोत्सव आयोजना गरिने भएको छ। हिमाली क्षेत्रका चौंरी र तिनका प्रजातिहरूको संरक्षण र उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले २०७३ सालदेखि सुरु भएको यो महोत्सवको निरन्तरता स्वरूप यस वर्षको महोत्सव आयोजना गर्न लागिएको हो। फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्र हाङ जवेगूका अनुसार, यो महोत्सव समुद्री सतहदेखि ३,५०० मिटर उचाईमा रहेको चाररातेमा हुने छ। महोत्सवमा ६०० भन्दा बढी चौंरी र तिनका प्रजातिहरूको प्रदर्शनी, घीउ, छुर्पी, चीज लगायत चौंरीजन्य उत्पादनहरूको स्टल राखिनेछ। याक चढाइ र घोडा चढाइ जस्ता आकर्षक कृयाकलाप पनि सञ्चालन गरिने बताइएको छ। महोत्सवको उद्देश्य चौंरी गाई र तिनका प्रजातिको संरक्षणसाथै चौंरीजन्य उत्पादनहरूको बजार प्रर्वधन गर्नु हो। यस महोत्सवमा विभिन्न मुलुकका २,००० भन्दा धेरै पर्यटकको सहभागिता अपेक्षित गरिएको छ। यस वर्षको महोत्सवको मुख्य कार्यक्रम भनेको नयाँ वर्षको पहिलो दिन वैशाख १ गते हुनेछ। महोत्सवमा उत्कृष्ट चौंरी पालकको सम्मान, मैत्रीपूर्ण फुटबल, याक डान्स, हुर्तुक पड्काउने जस्ता कार्यक्रम पनि सञ्चालन गरिने छ। आयोजना गर्ने संस्था तथा समन्वयकका रूपमा फालेलुङ गाउँपालिका, फालेलुङ कञ्चनजंघा पर्यावरण पर्यटन संस्था, दीपज्योति युवा क्लब, कञ्चनजंघा चौंरी पालन तथा संरक्षण संस्था र अन्य स्थानीय संघसंस्थाहरू सक्रिय छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार