शेरबहादुरजीको ताल त्यति राम्रो देख्दिनँ, उहाँ शेरजस्तो हुनुहुन्न : प्रचण्ड

शुक्रबार, १६ जेठ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकारलाई ढालेर आफूहरुलाई छिटो सरकारमा जाउँ भन्ने नभएको प्रतिक्रिया दिएका छन् । प्राइम टिभीबाट हिजो (बिहीबार) राति प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मैले सुरुदेखि भनेको थिएँ कि यो सरकार संवैधानिक र लोकतान्त्रिक ग्राउण्डमा बनेको छैन् । भ्रष्टाचारीलाई बचाउने गलत उद्देश्यले बनेको हुनाले यो आँफै आफ्नो बोझ थाम्न नसकेर ढल्छ भनेको थिएँ । मैले अहिले यसलाई ढालेर छिटो सरकारमा जाउँ भन्ने कुनै छैन् । हामी जनतामा ठिक छौं ।’

पत्रकार धमलाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग त तपाईंको वार्ता त भैराखेको छ नि भनेर राखेको अर्को प्रश्नमा उनले भने,‘त्यस्तो वार्तापनि छैन । शेरबहादुरजी पनि अहिले त्यति शेरबहादरजस्तो त्यति हुनुहुन्न । शेर भनेको त अलिक हुन्छ नि आँट इत्यादि । शेरबहादुरजीको ताल त्यति राम्रो मैले आजभोलि देख्दिनँ । त्यतिवेला नै मैले प्रधानमन्त्री बनाउँछु भनेकै हो । शेरबहादुरजी अलिक बढि इमानदार देखें, अहिलेपनि भन्छु जतिवेला केपीले चार घण्टा बालुवाटार गएर मलाई स्वर्ग र नर्कको कथा सुनाउनुभयो, त्यो बेला होईन होइन प्रचण्डजी सही भैसक्यो भनेर भन्नुभयो ।’

उनले आफूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बचाउनुपर्छ भनेर कहीँ कतै नभनेको स्पष्ट पारेका छन् । उनले भने,‘मैले बचाउनुपर्छ भनेर विल्कुल भनेको होईन । हिजो म गोरखाबाट चितवन हुँदै काठमाडौं आउने क्रममा मैले प्रतिपक्षहरु सबै बसेर यो इस्यु त्यसै छोड्न सकिँदैन, भिजिट भिसाको इस्यु, यसमा गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनको लागि सहजीकरण गर्नुपर्छ । यहाँबाट पछि हट्न हुँदैन भनेको छु ।’

बजेट भएकोले हिजो आफूहरु उदार बनेको भएपनि अब सदनमा निरन्तर अवरोध हुने पनि दाहालको भनाई छ । उनले भने,‘राजीनामा प्रकरण छुट्दैन । हामी राजीनामा माग्ने कुराबाट ब्याक हुँदैनौं । गृहमन्त्रीको राजीनामा आउनैपर्छ । उहाँले राजीनामा दिनैपर्छ । रमेश लेखकजीलाई मेरो सुझाव छ तपाईले राजीनामा दिन किन ढिलाई गरेको ? राजीनामा दिँदा तपाईको हाईट घट्दैन, बरु बढ्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार