‘स्वतन्त्रताको उज्यालो एवं फराकिलो लोकमार्गमा मुलुक अघि बढिरहेको छ’

सोमबार, ०१ बैशाख २०८२
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमले सबैमा समान रुपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो लोकमार्गमा मुलुक अघि बढिरहेको बताएका छन् । नयाँ वर्ष २०८२ को आगमनसँगै देशवासीका नाममा सन्देश जारी गर्दै उनले  राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी-कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सिर्जना गर्न खोजिएका प्रयत्नहरू एक-एक गरी निस्तेज हुँदै जाने बताए । ‘ֹसंघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमले सबैमा समान रुपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो लोकमार्गमा हाम्रो मुलुक अघि बढ्दै छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘आफ्नो भाग्य र भविष्य आफैंले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेका छन् । एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाई र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सिर्जना गर्न खोजिएका प्रयत्नहरू एक-एक गरी विस्तारै निस्तेज हुँदै जानेछन् ।’ समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त रहेको पनि राष्ट्रपति पौडेलको भनाइ छ । उनले भने, ‘आजको दिन हामी जनताको यही चाहना  पूरा गर्ने संकल्प गरौं । आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्बद्ध सबैलाई अपिल गर्दछु ।’ उनले स्वदेशी उत्पादनलाई बढावा दिनका लागि आह्वान पनि गरेका छन् । दिनहुँ विदेशिने युवालाई स्वदेशकै विकासमा आबद्ध बनाउन जरुरी रहेको भन्दै राष्ट्रपति पौडेलले रोजगारीका अवसर सिर्जनामा ढिलाइ गर्न नहुने बताएका छन् । ‘हामीले स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जरुरी छ । दिनहुँ ठुलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवम् रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्नु हुँदैन भन्ने पनि म ठान्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ, ‘श्रमको सम्मान गर्ने संस्कृतिसहित गाउँमै रोजगारी र आम्दानी सिर्जना गरेर विदेश पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने वातावरण निर्माणका लागि आज हामी प्रतीज्ञा गरौं ।’ आजको विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानुपर्नेमा पनि उनले जोड दिए । ‘कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो,’ उनले भने, ‘आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गरौं आज हामी ।’ उनले नयाँ वर्षले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गरोस् भन्ने कामना पनि गरेका छन् । ‘नयाँ वर्ष हाम्रो र देशको जीवनमा नयाँ सन्देश, नयाँ लक्ष्य र नयाँ संकल्प बनेर आउने विश्वाससहित नव वर्ष २०८२ ले मुलुकमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्‌भावसहित समावेशी एवं फराकिलो आधारसहितको आर्थिक विकास एवम् समृद्धि तथा सुसंस्कृत राष्ट्र निर्माणका लागि मन, वचन र कर्मले प्राथमिकताका साथ अग्रसर हुन सम्बद्ध सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार