४ वर्षमा २ सय ५१ जनाको ज्यान गयोतयारी गर्दागर्दा मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर आइतबार २६ वर्षीय अविरल थिङको मृत्यु भयो । अन्य दुई जना घाइते भए । पानीसँगै चट्याङ लागेर मनहरी–५ दरदराका २८ वर्षीय थिङको मृत्यु हुँदा ५६ वर्षीय सिंहबहादुर थिङ र मनहरी–५ डिल्लीपुर बस्ने १० वर्षीय सौगात गोले घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि चितवन लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सिंहबहादुर मृतकका बाबु हुन् भने गोले मृतककी सानीआमाका छोरा हुन् । घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । सुक्खा मौसममा चट्याङको अधिक सम्भावना हुन्छ । चट्याङ परेपछि तत्काल सुरक्षाको उपाय पनि हुँदैन । त्यसैले यसको पूर्वतयारी नै प्रभावकारी हुन्छ । जिल्ला दैवीप्रकोप उद्धार समिति मकवानपुरका अनुसार मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा छ । जिल्लामा ठूला जलविद्युत् आयोजनास्थल परिसरमा शक्तिशाली अर्थिङ गरिएको, हेटौंडा औद्योगिक क्षेत्रलाई चट्याङको जोखिमबाट विद्युतीय तरिकाले सुरक्षित गरिएको भए पनि सो क्षेत्रमा चुम्बकीय शक्तियुक्त खनिज पदार्थको प्रशस्त सञ्चिति रहेकाले चट्याङको सम्भावना बढेको औंल्याइएको छ । विशेषगरी, मकवानपुरको बाग्मती गाउँपालिकाको पूर्वी फापरबारी क्षेत्रलाई प्राकृतिक प्रकोपका आधारमा उच्च जोखिममा राखिएको छ । पटकपटक घटनाहरू दोहोरिनुमा विशेष कारण हुनसक्ने भन्दै समितिले पहिचानको क्रम जारी रहेको जनाएको छ । यसअघि नेपाल विद्युत् प्राधिकरण हेटौंडा शाखाको सहयोगमा फापरबारीमा अर्थिङ गरिने बताइए पनि हालसम्म काम भएको छैन । अर्थिङका लागि आवश्यक तामा विद्युत् प्राधिकरणले व्यवस्था गर्ने भनिएको थियो । कोइला तथा अर्थिङका लागि आवश्यक खाल्डो खन्न स्थानीयसँग सहयोग माग गरिएको भए पनि स्थानीय र प्राधिकरणबीच समन्वय अभावमा अर्थिङ कार्य भएको छैन । कोइलाको परिमाण धेरै चाहिने भएकाले स्थानीयले त्यसको व्यवस्थापन गर्न नसक्ने बताएपछि अर्थिङ जडान हुन सकेको छैन । गैससहरूको सहयोग प्राप्त भएमा स्थानीयवासी सुरक्षित हुने प्रशासनले बताएको छ । समितिका अनुसार फापरबारी क्षेत्रमा मात्र अनुमानित ५० घर तथा ३ सय जना चट्याङको जोखिममा छन् । चुम्बकीय शक्तियुक्त प्रशस्त खनिज पदार्थ तथा खानीका कारण परेको चट्याङले हालसम्म मकवानपुरमा पछिल्लो ४ वर्षयता २ सय ५० बढीको ज्यान लिइसकेको प्रहरीको तथ्यांक छ । विगतका चट्याङका घटना र त्यसबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार ५० वटा घटनामा परी उनीहरूको ज्यान गएको हो । घटनामा १० जना घाइते भएका थिए । चट्याङबाट करिब २ सय घर प्रभावित छन् । २७ घर चट्याङले पूर्णरूपमा क्षति गराउनुका साथै १ सय १५ चौपाया मरेका छन् । चौपायाको मात्र करिब ८ लाख रुपैयाँबराबर क्षति भएको योजना प्रतिवेदनमा उल्लेख छ । चुरे पहाड र महाभारत पहाडको काखमा रहेको, कुलेखानी जलविद्युत् आयोजना, शक्तिशाली अर्थिङ गरिएका उद्योगसमेत रहेकाले मकवानपुरलाई चट्याङको जोखिमयुक्त जिल्लाका रूपमा हेरिएको छ । चट्याङको सबभन्दा बढी प्रभाव फागुनदेखि साउनसम्म देखिने भएकाले सो अवस्थालाई विचार गरेर जिल्ला दैवीप्रकोप उद्धार समितिले सन् २०१२ मा विस्तृत कार्ययोजना बनाएको थियो । कार्ययोजनाअनुसार उद्धार तथा आगलागी निभाउन खोज, फायर बिग्रेडिएर टोली परिचालन, चट्याङ’bout अध्ययन गरी रोकथामका लागि वैज्ञानिक पद्धति अवलम्बन, पीडितलाई सुरक्षित स्थानमा राखी सहयोग पु¥याउने, अर्थिङको व्यवस्था गरी समुदायलाई सुरक्षित बनाउने र चट्याङ प्रभावितलाई अस्पतालमा छुट्टै वार्डको व्यवस्था गर्नेलगायत उल्लेख गरिएको थियो । वर्षायाम र बादल लागेका बेला सजग रहन तथा विद्युतीय सामग्रीबाट टाढा रहन सूचना सामग्री तयार गरी नागरिकलाई सूचित गरिने भनिए पनि त्यसो हुन सकेको छैन । मकवानपुरमा घटेका २१ प्रकारका प्रकोपमध्ये चट्याङलाई दैवीप्रकोप उद्धार समितिले पाचौं नम्बरमा स्तरीकरण गरेको छ । मकवानपुरको कैलाश, राक्सिराङ र बाग्मती गाउँपालिका चट्याङको बढी जोखिम क्षेत्र हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालू आवमा चट्याङ लागेर ६ जनाको मृत्यु भइसकेको छ । गत आवमा चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामु अर्यालका गत आवमै एउटा चौपाया मरेको थियो भने एउटा गोठमा आगलागी हुँदा क्षति भएको थियो । चालू आवको साउनयता ६ जना घाइते भएका र एउटा चौपाया मरेको छ । खेतमा काम गर्दागर्दै, घरमा बसेको ठाउँमा पनि चट्याङ लागेर मृत्यु हुनसक्ने अर्यालले बताए । जलवायु परिवर्तनले गर्दा चट्याङ पर्ने र यसको क्षति तथा जोखिम पनि बढ्दै गएको छ । चट्याङबाट हुने क्षति रोक्न घरमा अर्थिङ गर्नुपर्छ । अर्थिङले चट्याङ पर्दा निस्केको करेन्ट र घरमा प्रवाह हुने विद्युत् करेन्टलाई जोडिन दिँदैन र करेन्ट प्रवाह रोक्छ । चट्याङका कारण ठूलो जनधन क्षति हुने गरे पनि सम्बद्ध निकायको बेवास्ता र जनचेतना अभावका कारण जोखिम कम गर्न सकिएको छैन । तर, यस्ता केही सावधानी र उपाय अवलम्बन गरे चट्याङबाट हुने क्षतिबाट जोगिन सकिन्छ । चट्याङप्रतिरोधी घर निर्माणमा घरमाथि तामाको त्रिशूल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्ने, चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरनजिक नबस्ने गर्नुपर्छ । यसैगरी, अग्ला रूखमुनि ओत नलाग्ने, धातुको तारबार नजिक नबस्ने, समथर र खुला ठाउँमा नबस्ने, भूमि र बादलको दूरी कम भइरहने पहाडी भूभागमा सतर्क रहने, चट्याङ परेका बेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्ने र छत नभएको सवारीसाधनमा भए तुरुन्त सुरक्षित स्थानमा जानेलगायतका सावधानी अपनाउँदा चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया