कलाकर्मी र संस्कृतिमाथिको उपेक्षा सहन सकिँदैन : अध्यक्ष तीर्थ थापा

शुक्रबार, ०५ बैशाख २०८२
काठमाडौं । नेपाल सांस्कृतिक महासंघको नेतृत्वमा बसेर काम गरेको १९ बर्ष वित्यो । लोकतन्त्रमाथि विश्वास गर्ने देशभरका कलाकर्मीहरुको छाता संस्था महासंघ अब तेस्रो महाधिवेशनमा जुटेको छ । म यतिबेला तेस्रो महाधिवेशन सम्पन्न गराउने दौडमा छु । यतिबेला कोशी र मधेस प्रदेशका सबै जिल्लाहरुको अधिवेशन सम्पन्न भइसकेको छ । केन्द्रीय महाधिवेशनको लागि सबै जिल्लाको अधिवेशन सक्नुपर्ने बाध्यता छ । अबको तीन महिनभित्र महाधिवेशन सम्पन्न गराउने दौडमा छौं । देशभरका कलाकर्मीको भावना बुझ्दा मातृ संस्था नेपाली कांग्रेसबाट सांस्कृतिक कर्मीहरु अर्थात महासंघ उपेक्षित भएको अनुभव भइरहेको छ । सांस्कृतिक महासंघ भनेको गीत गाउने, नाच्ने, हसाउने, रमाइलो गर्ने र कुनै चुनावका लागि काम गर्ने संस्था मात्र हो भन्ने बुझाइ भयो । केही नेताहरुको यसको धेरै भूमिका बुझेका छन् । कुनै सन्देश प्रवाहका लागि संस्थाको महत्व ठूलो छ भन्ने बुझेका छन् । कुनैपनि मुद्दा वा विषयबस्तुको सन्देश प्रवाह गर्न कलाकारिताका विभिन्न माध्यम वा विधाहरु महत्वपूर्ण छन् भन्ने बुझेका छन् । तर सबैले यसको महत्व बुझेका छैनन् । गीत, संगीत, नाटक, अभिनय, कविता, चित्रकला आदीको महत्व छ भन्ने कुरा कमै नेताले मात्र बुझेका छन् । यसको महत्व छ भन्नेमा कम नेताको मात्रै धारणा पाएका छौं । धेरैले गीत गाउने र नाच्ने मात्रै हो भन्ने भावना पाएका छौं । नेपाली कांग्रेस पार्टीभित्र बुझाइ के रहेछ भने कि जेल गएको हुनुपर्यो कि विद्यार्थी आन्दोलन गरेको हुनुपर्यो भन्ने मान्यता रहेछ । अझ दलित, महिला, जनजाति हुनुपर्यो भन्ने मान्यता रहेछ । उ मात्र नेता बन्ने र उसले मात्र अवसर पाउनुपर्छ भन्ने बुझाइ रहेछ । तर कलाकारिता वा सांस्कृतिक महासंघको भूमिका र महत्वलाई बुझ्न सकिएन । कलाकारिताको योगदान ठूलो छ, यसले अर्थात संस्कृतिले समाज परिवर्तन गराउँछ, सामाजिक चेतना बढाउछ भन्ने भावना चाँही नेताहरुमा छैन् । सांस्कृतिक क्षेत्रको महत्व धेरै नै थियो भन्ने कुराहरुको महशुस जननायक बीपी कोइरालाले गर्नुभएको पाइन्छ । किनकी वि.स.२००८ सालमा नेपाल सांस्कृतिक परिषद् गठन गरेको कुराले त्यसलाई पुष्टि गर्छ । त्यतिबेला परिषद्को अध्यक्ष बीपी स्वयम आफै हुनुभयो । जसमा सिद्धिचरण श्रेष्ठ, लेखनाथ पौडेल ,लक्ष्मीप्रसाद देवकोटा लगायतका थुप्रै व्यक्तित्वहरु समावेश थिए । परिषद् किन गठन गरियो वा किन खोलियो भन्दा त्यतिबेला सायद मिडिया कमजोर थियो होला । कविता, कथा, उपन्यास लेखिने गरेको र त्यसको प्रभाव जनतामा धेरै थियो भन्ने छ । समाजमा कस्ता कस्ता व्यक्तिहरु छन् भन्ने कुरा उपन्यास, कथा, कविताले पुष्टि गर्दथ्यो । पछिल्लो चरण ०६२–६३ को जनआन्दोलनमा हामीले प्रत्यक्ष सहभागिता जनाएर कलाकर्मीको महत्व र सान्दर्भिकता पुष्टि गरिसकेका छौं । जसको फलस्वरुप २०६२ साल फागुन २७ गते सांस्कृतिक संघका रुपमा समिति गठन गरेर हामी अगाडि बढेका हौं । फागुनमा समिति बनायौं र जेठको ११ गते कांग्रेसले शुभेच्छुक संस्थाको रुपमा मान्यता दिएको हो । त्यसपछि हामी निरन्तर क्रियाशील रहेर विभिन्न रुपमा सक्रियता बढाएका हौं । गिरिजाप्रसाद कोइराला हुँदै तत्कालिन ७५ जिल्लामध्ये ६३ जिल्ला गठन गरेर ०६६ सालमा पहिलो अधिवेशन गरेका थियौं । ०७३ सालमा दोस्रो अधिवेशन गर्दा पनि ७५ जिल्ला नै गठन भइसकेको थियो । महासंघ अहिले पनि ७७ नै जिल्ला गठन भइसकेको छ । सम्मान, सुरक्षा र पहिचानको कुरा महत्वपूर्ण हुने रहेछ । तर आजका दिनमा सांस्कृतिक महासंघमा लागेर आफ्नो क्षेत्रको पहिचान नहुने र व्यवसायको ग्यारेन्टी नहुने अवस्था देखिएको छ । अनेक छन् प्रश्न महासंघप्रति कलाकारहरुको आकर्षण बढाउने कुरामा निकै सकस भइरहेको छ । कलाकार वा स्रष्टाहरुको आकर्षण कम छ । मलाई नै धेरैले प्रश्न गरिरहेका छन्–१९ बर्षसम्म लागेर तैंले के पाइस भनिरहेका छन् । न पार्टीमा भूमिका, न नियुक्ति, न माननीयको टिकट दिलाउन सकिस भन्ने अनेक प्रश्नहरु छन् । आफ्नो पेशा गरिरहेका छौ, खाइरहेका छौ महासंघमा किन लाग्नु भन्ने खालको भावना कलाकारहरुमा छ । सायद त्यो प्रभाव कांग्रेसले दिन सकेको छैन् । यसमा हाम्रो संस्थाको पनि पनि कमजोरी हुन सक्छ । पार्टीले दिएन भनिरहँदा हामीले के गर्यौं भन्ने प्रश्नहरु होलान । संगठित हुन नसक्दा कमजोर भएको, सामूहिक आवाज उठाउन नसकिएको होला भन्ने लागिरहेको छ । ०६२।०६३ मा एउटा भावना थियो । ०६४ सालको चुनावमा पाँचवटा समूह बनाएर हिंडेका थियौं । चुनावी परिणाममा काङ्ग्रेस कमजोर भयो । त्यसपछि संगठन बनाउन हिड्यौं । त्यो बेला र अहिलेको चालमा धेरै फरक छ । त्यो बेला आकर्षण र विश्वास थियो । केही हुन्छ कि भन्ने थियो । माधव कुमार नेपाल प्रधानमन्त्री भएका बेला गिरिजाबाबुले नै के छ पेशा भनेर सोध्नु भएको थियो । केही छैन् भनेर भन्दा अनि घर व्यवहार कसरी चलाउनुहुन्छ भन्नेर प्रतिप्रश्न गर्नुभएको थियो । त्यसबेला खुबै सोधिखोजी हुन्थ्यो । संस्थाप्रति गरेको मेहेनतका बारेमा नेताहरुलाई चासो हुन्थ्यो । त्यसैबेला मलाई गिरिजाबाबुले एकेडेमीमा जिम्मेवारी दिनुभएको थियो । सोही मौकामा दिनरात नभनी काम गरेर संगठन बनाएका थियौं । ७५ जिल्लामा नै संगठन बनाएका थियौं । संगठन बनाउने सिलसिलामा उहाँले नै प्रत्यक्ष संलग्नता देखाउनुहुन्थ्यो । त्यसैले त्यसबेला कलाकर्मी वा महासंघप्रति पार्टीको चासो र चिन्ता थियो । तर हिजोआज हामी उपेक्षित भएका छौं ।  उबेलाको अवस्था अहिले छैन् । सायद यसमा म आफैं पनि दोषी छु । नेता बोल्नै चाहँदैनन् संस्कृतिको विषयमा वा हाम्रो सांस्कृतिक महासंघका सन्दर्भमा हाम्रा नेताहरु बोल्नै चाहदैनन् । पार्टीका १६५ जना नेताहरुले केन्द्रीय समितिमा संस्कृतिको बारेमा कुनै कुरा राखेका छैनन् । यसको संरक्षण गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेकै छैनन् । महासंघको संस्थागत प्रतिनिधित्व चाहिन्छ, यो पक्षलाई पनि समावेश गर्नुपर्छ भन्ने चेत नेताहरुमा छैन् । गुटका बारेमा बोल्ने तर संस्थाका बारेमा नबोल्ने परिपाटीको विकास भएको छ । त्यसको शिकार महासंघ भइरहेको छ । हुनत १९ वर्षको समयमा नेपाली काङ्ग्रेसले अध्यक्षका रुपमा मलाई सम्झने गरेको त छ तर त्यो आशन ग्रहणका लागि मात्रै हो । तर महासंघमा रहेका सयौं साथीहरुलाई स्थान दिने वा अवसर दिने कुरामा पार्टीले सम्झेको छैन् । यति हुँदाहुँदै पनि हामी आत्तिहालेका छैनौं, विश्वास दिलाउने प्रयासमा छौं । अध्यक्ष भएका नाताले म हाल सबै जिल्लाको भ्रमणमा हिड्नुको कारण ७७ जिल्लाबाट कांग्रेसको आगामी महाधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट एकजना सांस्कृतिक महासंघकै नेतालाई महाधिवेशन प्रतिनिधिका रुपमा ल्याउने प्रयासका लागि हो । १६५ जना महासंघका तर्फबाट अधिवेशन प्रतिनिधि ल्याउनसके केन्द्र र प्रदेशमा हाम्रो प्रतिनिधित्व हुनेमा हामी विश्वस्त छौं । किनकी १९ वर्षमा मैले जति गुमाए त्यो अरु मान्छेले सहनै सक्दैन् । आत्महत्या गर्नेसम्म पुग्छ । वास्तविक पीडा मैले भोगेको छु । महासंघका अन्य अभियन्ताहरुलाई यस्तो अवस्था आउन नदिने मेरो प्रण हो । आफ्ना छोराछोरीभन्दा पनि धेरै माया संस्थाको लाग्छ । तर साथीहरुलाई विश्वास दिलाउन मलाई आफ्ठयारो भइरहेको छ । म नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छु । नेतृत्व गर्नसक्ने व्यक्तिहरु उत्पादन पनि भइसकेका छन् । थकाई लागेपनि म निरन्तर महासंघको शाखलाई जोगाऔं भन्नेमा छु । उपेक्षा अस्वीकार्य जो कोहीले सांस्कृतिक क्षेत्रलाई उपेक्षा, अपमान र समावेशीताको सिद्धान्त बाहिर राखेर काम गर्न हुँदैन् । राजनीतिक क्षेत्रबाट वा राज्यबाट भइरहेको उपेक्षा गलत छ । संस्कृति भनेको बोलीचाली, रितिरिवाज, परम्परा, गीत–संगीत रचना र विभिन्न धर्मसँग सम्बन्धित विषयवस्तु नै संस्कृति हो । त्यसलाई उपेक्षा गरेर राज्य सम्पन्न हुन सक्दैन् । संसारका कुनैपनि देशमा रहेको संस्कृतिमा लगानी हुन्छ त्यहाँ संस्कृतिको सम्मान र सुरक्षा भएको पाएका छौं । त्यो भनेको देशको सम्मान हो । संस्कृति क्षेत्रको गरिमा रहेन भने राज्य सक्षम भएको ठहरिदैन् । कांग्रेस मात्र नभइ अन्य दलहरुले यो क्षेत्रलाई महत्व दिनुपर्छ । धार्मिक पर्यटन बढाउन यसले धेरै ठूलो भूमिका निर्वाह गर्छ ।  त्यसैले राज्यले सांस्कृतिक क्षेत्रलाई उपेक्षा गरेर अगाडि बढ्न सक्दैन् । (चलचित्र निर्देशक एवं नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तीर्थ बहादुर थापासँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार