इटहरी : नेपालको पूर्वी क्षेत्रमा पहिलो पटक आयोजना हुन लागेको 'कोशी आइटी समिट २०२५' ले देशकै डिजिटल भविष्यतर्फको यात्रालाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। यो आइटी समिट वैशाख २० गते विराटनगरको विराट मेडिकल कलेजको सभा हलमा हुँदैछ ।समिटको नेतृत्व गरिरहेका नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनान रिजालसँग हामीले सम्मेलनको उद्देश्य, विशेषता र दीर्घकालीन योजनाबारे कुराकानी गरेका छौँ।
कोशी आइटी समिट २०२५ आयोजना गर्ने प्रेरणा के हो ?
हामीसँग एउटा गहिरो आवश्यकता थियो — तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, हामी समावेशी डिजिटल परिवर्तन चाहन्थ्यौँ।
अहिले नेपाल डिजिटल प्रविधिको सुरुवाती चरणमै छ, तर हामीलाई लाग्छ कि अब केवल काठमाडौँमा मात्र केन्द्रित हुनु हुँदैन। कोशी प्रदेशसँग पनि अपार सम्भावना छ। यदि हामीले युवा, उद्योग र नीतिनिर्मातालाई एउटै दिशातर्फ उन्मुख गर्यौँ भने, कोशीले वर्तमानको आइटी बूमबाट धेरै फाइदा लिन सक्छ।
सम्मेलनको उद्देश्य के हो ?
हाम्रो उद्देश्य छ — डिजिटल प्रविधिलाई जनतामाझ पु¥याउने, स्थानीय स्तरमा लगानीको वातावरण बनाउने र युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने। यो सम्मेलन केवल एक कार्यक्रम होइन, यो पूर्वी नेपालको डिजिटल भविष्यको सुरुवात हो।
सम्मेलनका मुख्य आकर्षणहरू के–के छन् ?
हामीले नेपालकै अग्रणी प्रविधि विज्ञहरूलाई एउटै मञ्चमा ल्याएका छौँ। ‘ग्लोबल आइटी ट्रेन्ड्स एण्ड लोकल अर्परच्युनिटीज नामक सत्रमा क्लाउड फ्याक्टरीका प्रशान्त पोखरेल, फ्युजमेसिन्स साउथ एसियाका पराग श्रेष्ठ, किम्बु टेककी कर्विका थापा र डेल्टा टेककी एकता गोल्छा सहभागी हुनेछन्।
त्यस्तै, ‘इन्डस्ट्री लिडर्स पर्सपेक्टिभ’ सत्रमा खल्तीका अमित अग्रवाल, खालिसिसीका अमुन थापा र पठाओ नेपालका असीम बस्नेतले सहभागिता जनाउनेछन्।
यी दुवै सत्रमा प्रविधिका वास्तविक चुनौती, सफलता र भविष्यबारे गहिरो छलफल हुनेछ।
सबैभन्दा उल्लेखनीय कुरा — हामीसँग प्रमुख वक्ताको रूपमा समीर थापा हुनुहुन्छ, जो माइक्रोसफ्टमा प्रिन्सिपल टेक्नोलोजीका आर्किटेक्ट हुनुहुन्छ। उहाँको अन्तर दृष्टि विशेष गरी विकासशील देशहरूका लागि अत्यन्त सान्दर्भिक हुनेछ।
यो सम्मेलन अरू आइटी कार्यक्रमहरूभन्दा फरक किन छ ?
हामी केवल छलफलमै सीमित छैनौँ — हामी योजना बनाइरहेका छौँ, सहकार्य गरिरहेका छौँ। नीति निर्माणमा प्रभाव पार्ने, स्थानीय लगानीको ढोका खोल्ने र युवाहरूलाई अन्तर्राष्ट्रिय आइटी क्षेत्रसम्म पहुँच पुर्याउनु हाम्रो लक्ष्य हो । सम्मेलनमा ५०० भन्दा बढी सहभागी हुनेछन् — जसमा विद्यार्थी, उद्यमी, प्रविधिकर्मी, र सरकारी अधिकारीहरू रहनेछन्।
हामी तीन मुख्य बुँदामा केन्द्रित छौँ — पहिलो, कसरी प्रतिभालाई देशमै रोक्ने रु दोस्रो, युवाले घरबाटै विदेशी मुद्रामा आय कसरी गर्न सक्छन् < र तेस्रो, कोशीलाई कसरी स्टार्टअपमैत्री प्रविधि पारिस्थितिक तन्त्र बनाउने <
सम्भावित प्रायोजक र साझेदारहरूप्रति तपाईँको सन्देश के छ ?
यो एउटा ऐतिहासिक अवसर हो। यदि तपाईँ युवा, प्रविधि र प्रगतिमा विश्वास राख्नुहुन्छ भने — अहिले नै सहभागी हुने उपयुक्त समय हो। यो सम्मेलनलाई समर्थन गर्नु भनेको केवल आफ्नो ब्रान्डको प्रचार गर्नु होइन, बरु डिजिटल परिवर्तनको उत्प्रेरक बन्नु हो।
दीर्घकालीन रूपमा तपाईँको दृष्टिकोण के हो ?
हामी यो सम्मेलनलाई एउटा सुरुवातको रूपमा लिएका छौँ। हाम्रो दीर्घकालीन लक्ष्य हो — कोशीलाई एक डिजिटल केन्द्र बनाउनु, जहाँ युवाहरू सशक्त बनुन्, स्टार्टअपहरूलाई आवश्यक सहयोग मिलोस् र प्रविधिमा आधारित नीति निर्माण होस्। हामी कोशीबाटै नेपालको डिजिटल भविष्यको नेतृत्व गर्नेछौँ।
कोशी आइटी समिट २०२५ — केवल एक प्रविधि सम्मेलन होइन, यो कोशी प्रदेशको सम्भावनालाई उजागर गर्ने, डिजिटल युगतर्फको एउटा ऐतिहासिक पाइलो हो। मुनान रिजालको नेतृत्वमा, यो सम्मेलनले नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा समेत लिइएको छ ।
प्रतिक्रिया