भोलीसम्म निष्कर्षमा पुग्ने गरी महासंघसँग वार्ता जारी : नेता महर

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि सरकार, संयन्त्र, राजनीतिक दल र शिक्षकबीच सहमति नजिक पुगेको बताएका छन्।

नेपाल शिक्षक संघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँग कुराकानी गर्दै महरले सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता भोलीसम्म परिणाममुखी हुने गरी गृहकार्य भइरहेको जानकारी दिए।

उनका अनुसार, तत्काल पूरा गर्न सकिने मागहरूमा सहमति गरी मन्त्रिपरिषद्बाट छिट्टै निर्णय हुने, साथै विद्यालय शिक्षा ऐनको समयसीमा तोकिने तयारी भइरहेको छ।

महरले कक्षा १२ को परीक्षा समयमै सुरु हुने गरी काम भइरहेको पनि बताए। उनका अनुसार शिक्षक महासंघका मुख्य एजेन्डाहरू मन्त्रिपरिषद्बाट सम्बोधन हुनेछन् र शिक्षा ऐन चाँडै पारित गरिनेछ।

शिक्षकको सम्मान हुने गरी शिक्षा प्रणालीभित्रका समस्याहरू भोलीसम्म समाधान हुने दाबी गर्दै उनले सबै पक्ष—सरकार, शिक्षक, विद्यार्थी र अभिभावक—आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए।

यता, सोमबार राति मन्त्रालयबाट निस्कँदै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भए पनि अझ केही विषयमा सहमति आवश्यक रहेको बताएका छन्। यद्यपि २८ दिनदेखि शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन यथावत् रहेको छ।

थप सहयोग चाहिन्छ?

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार