झापा : झापा जिल्लाको बाह्रदशी गाउँपालिका–६ मा रहेको मिनी माउन्टेन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका १७ जना बालबालिका धाराको पानी पिएपछि पेट दुख्ने जस्ता लक्षण देखाउँदै बिरामी परेका छन्।
बुधवार दिउँसो करिब २ बजेको समयमा विद्यालय परिसरमा रहेको धाराको पानी सेवन गरेपछि उनीहरूलाई पेट दुख्ने समस्या देखिएको हो। तुरुन्तै विद्यालय प्रशासन र शिक्षकहरूको सहयोगमा सबै बालबालिकालाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको थियो।
अस्पतालमा उपचाररत सबै बालबालिकाको अवस्था हाल सामान्य रहेको र थप चिकित्सकीय निगरानीमा राखिएको विद्यालय स्रोतले जनाएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी निरीक्षक बल कुमार राईको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पानीमा सम्भावित प्रदूषणका कारण बालबालिकामा समस्या देखिएको हुन सक्ने अनुमान गरिएको छ।
पानी परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। विद्यालयमा प्रयोग हुने खानेपानीको स्रोत सुरक्षित छ वा छैन भन्नेबारेमा थप छानबिन भइरहेको छ।
प्रतिक्रिया