विराटनगर : कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभा सांसद केदार कार्कीले सीमावर्ती क्षेत्रमा सुशासनको नाममा दिनमा सामान्य यात्रुलाई रोक्ने र रातिको समयमा अवैध रूपमा ट्रकका ट्रक सामान भित्र्याउने कार्य व्यापक रूपमा भइरहेको गम्भीर आरोप लगाएका छन् ।
बुधवार बसेको कोसी प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै कार्कीले संघ र प्रदेश दुवै सरकारले सुशासनको धेरै चर्चा गरे पनि त्यसको व्यवहारमा उल्टो गतिविधि भइरहेको उल्लेख गरे ।
“सुशासनको कुरा धेरै भयो । लामो समय कांग्रेस दलका नेताले पनि सदनमा सुशासनको कुरा गर्नुभयो । नाकामा हुने झोलेपोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ । म आफैँ केही दिनअघि राति निरीक्षणमा जाँदा रानीको अरुण सिनेमा हल नजिकैको गल्लीबाट ठेलामा सरसामान भित्राने गरेको देखेँ । प्रहरी आफैँले लाइट बालेर गाडी पास गराउँदा रहेछन् । हामी राजस्वको दायरा बढाऊँ भन्छौँ । कपालभन्दा माथि उडेको हावाको कर लिने ?,” उनले भने ।
उनले यस्तो गतिविधिले राजस्व सङ्कलनमा गम्भीर असर पारिरहेको भन्दै प्रदेश सरकारले संघ सरकारसँग मिलेर सशक्त रूपमा हस्तक्षेप गर्नुपर्ने बताए । कार्कीले हालै विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीको अध्यक्षता गृह मन्त्रालयका सचिवले गरेकोप्रति पनि आपत्ति जनाएका हुन् । उनले प्रदेश सरकारले दाशत्व स्वीकार गरेको बताएका हुन् ।
अघिल्लो अभ्यास अनुसार यस्तो बैठकको अध्यक्षता प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीले गर्ने परम्परा रहेको स्मरण गराउँदै उनले भने, अघिल्ला बैठकहरूमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीले अध्यक्षता गर्ने अभ्यास थियो । म आफैँ आन्तरिक मामिला मन्त्री छँदा अध्यक्षता गरेको हो,” उनले भने ।
पूर्वमुख्यमन्त्रीको वक्तव्यपछि सरकारका तर्फबाट जवाफ दिएका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले गृह सचिवको अध्यक्षताका सम्बन्धमा नीतिगत व्यवस्थामा गृह सचिवले नै अध्यक्षता गर्ने व्यवस्था रहेको जनाए ।
बैठकमा गृह सचिव भन्दा माथिल्लो हैसियतमा रहेर कोशीका मुख्यमन्त्री र आफूले समेत निर्देशन जारी गरेको उल्लेख गर्दै दासत्व स्वीकार गरेको भन्न नमिल्ने जनाएका हुन् ।
कोशीको प्रदेशसभामा मंगलबारदेखी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
प्रतिक्रिया