नागरिकता टोलीको त्रुटिका कारण एक महिनादेखि अस्पतालको बेडमा छट्पटिँदै मोरङकी २९ वर्षीया सोनी

विहीबार, १५ जेठ २०८२

काठमाडौं : टिचिङ अस्पताल महाराजगन्जको क्याबिन नम्बर ३०६ मा २९ वर्षीया सोनी केसी एक महिनादेखि मिर्गौला प्रत्यारोपणको पर्खाइमा छट्पटिइरहेकी छिन्।

दुबै मिर्गौला फेल भई अस्पताल भर्ना भएकी उनलाई बचाउन उनका सासू आमा सीता कार्की मिर्गौला दान गर्न तयार छिन्। तर, सीताको नागरिकतामा भएको जन्ममिति त्रुटिले मिर्गौला प्रत्यारोपण रोकिएको छ।

२०८२ वैशाख १५ गते अस्पताल भर्ना भएकी सोनीको अवस्था गम्भीर बन्दै गएको छ। तर, नागरिकता दस्तावेजमा देखिएको त्रुटिले उपचार प्रक्रिया अघि बढ्न सकेको छैन। नागरिकतामा सीता कार्कीको जन्ममिति २०३७ साल उल्लेख छ, जबकि उनका छोरा रमेश कार्कीको जन्ममिति २०४४ माघ २९ रहेको छ।

नागरिकता अनुसार आमा-छोराबीचको उमेर फरक केवल ७ वर्ष देखिएकोले चिकित्सकहरूले अंग प्रत्यारोपणमा शंका व्यक्त गर्दै प्रक्रिया रोकिदिएका छन्।

छोरा रमेश कार्कीका अनुसार नागरिकता बनाउने सरकारी टोली घरमै आएको थियो। आमासँग उमेर सोध्दा उनले ४७ वर्ष भनेकी थिइन्।

तर, टोलीले २०३७ सालको जन्ममिति उल्लेख गरेर नागरिकता बनाएको रमेशको भनाइ छ। ‘आमाले पढ्न लेख्न जान्नुभएन। नागरिकता बनेको हेर्नु पनि भएन। अहिले यही गल्तीले हामी धेरै तनावमा छौं,’ रमेशले भने।

Untitled design (11)

सोनिको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण परीक्षणहरू सकिएको अस्पतालले जनाएको छ। तर, नागरिकता विवाद समाधान नभएसम्म प्रत्यारोपण गर्न नसकिने स्पष्ट गरिएको छ। अस्पतालका कार्यकारी निर्देशक प्राडा। सुवास आचार्य र कानुनी सल्लाहकार नारायण खनालबीच विषयमा छलफल भए पनि समाधान फेला परेको छैन। अस्पतालले अब या त नागरिकता सुधार गर्नुपर्ने वा डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएको छ।

यसबीचमा रमेशले आमाबुबा र आफूसँगको नाताको प्रमाण पेश गर्दै मोरङको कानेपोखरी गाउँपालिका–५, वडा कार्यालय र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट प्रमाणपत्र लिएर जिल्ला प्रशासन कार्यालय मोरङ पुगे। तर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नागरिकता सच्याउन अस्वीकार गरे।

‘हामीसँग सारा प्रमाण छन्। तर, प्रशासनले नागरिकता सच्याइदिँदैन,’ रमेश भन्छन्, ‘यो त्रुटि हाम्रो होइन, नागरिकता बनाउने सरकारी टोलीको हो। त्यसको सजाय किन हामीले भोग्नुपर्छ?’

सरकारी त्रुटिले अस्पतालको शैयामा उपचारको पर्खाइमा थलिएर बसेकी सोनी अहिले डायलाइसिसमार्फत जीवन धानिरहेकी छिन्। मिर्गौला उपलब्ध भएर पनि प्रत्यारोपण हुन नसक्दा उनको जीवन थप संकटमा परेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार