मोरङ जिल्लास्तरीय चित्रकलाका लागि विराटनगरका २० जना विद्यार्थी छनोट

मंगलबार, २० जेठ २०८२

विराटनगर । मोरङ जिल्लास्तरीय चित्रकला प्रतियोगिताका लागि विराटनगरका २० जना विद्यार्थी छनोट भएका छन् । 

प्याब्सन विराटनगरले मंगलबार आयोजना गरेको महानगरस्तरीय चित्रकला प्रतियोगिताबाट सिनियरतर्फ ११ र जुनियरतर्फ ९ जना विद्यार्थी छनोट भएका हुन् । उनीहरुले जेठ २९ गते हुने जिल्लास्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । 

प्रतियोगितामा सिनियर समूहतर्फ बुढानीलकण्ठ स्कुलका योगराज साह र जुनियर समूहतर्फ सुम्निमा बोर्डिङ स्कुलकी कृष्टिना राई प्रथम भए । सिनियर समूहतर्फ दिल्ली पब्लिक स्कुलकी प्रेरणा पण्डित द्वितीय, ग्रेडेड स्कुलकी कृतिका यादव तृतीय तथा एभरेष्ट स्कुलकी रोनी सापकोटा चौथो भए । 

जुनियर समूहतर्फ कान्तिपुर स्कुलका बिप्लव दास द्वितीय, ग्रीनल्याण्ड स्कुलका आविष्कार कार्की तृतीय र हेरिटेज स्कुलका कोभिड कुन्डलिया चौथो भएका छन् । जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सिनियर समूहबाट मोर्डन एरा स्कुलकी अंकिता श्रेष्ठ, हेरिटेज स्कुलकी इच्छा बज्राचार्य, पूर्वाञ्चल विद्या सदन स्कुलकी अनिशा राई, डीएभी स्कुलकी सलोनी सोनी, मदरल्याण्ड स्कुलका ओमप्रकाश शर्मा, गौतम बुद्ध स्कुलका आयुष्मा आचार्य तथा विनायक स्कुलका महावीरकुमार मेहतर छनोट भएका छन् ।

यस्तै, जिल्लास्तरीय चरणमा सहभागी हुनलाई जुनियरतर्फ ओडीसी स्कुलकी आयुषा कायुम खान, विनायक स्कुलकी न्यान्सीकुमारी साह, अपर्ण स्कुलका पेसल पराजुली, बुढानीलकण्ठ स्कुलकी सुश्रीन भट्टराई र शिक्षादीप स्कुलका रोहन साह छनोटमा परेका छन् । प्रतियोगिताको मूल्यांकन ललित कला संगम मोरङका अध्यक्ष प्रकाश चौधरीको नेतृत्वमा भएको थियो । 

प्रतियोगितामा ३१ विद्यालयका ५८ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रम संयोजक यादव प्रधानका अनुसार विद्यार्थीहरुको सिर्जनात्मकता र चित्रकलामा भएको रुचीलाई प्रवर्धन गर्नु प्रतियोगिताको उद्देश्य हो । कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय प्रागिक सल्लाहकार सावित्रा पराजुलीले विद्यार्थीमा रहेको क्षमता उजागर गर्न यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिइन् । 

प्याब्सन विराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठले चित्रकला जस्तो सिपलाई व्यावसायिक स्तरसम्म पुर्याउन सकिने उल्लेख गर्दै विद्यार्थीहरुलाई जिल्लास्तरीय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए । कार्यक्रममा प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलला सिंह सुवाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष विष्णु डंगोललगायतले छनोटमा परेका विद्यार्थीलाई बधाई दिएका छन् । 

उनीहरुले आगामी यात्रा सफलताको शुभकामनासमेत दिए । आगामी जेठ २९ गते हुने जिल्लास्तरीय प्रतियोगितामा विराटनगरका २० जना विद्यार्थीहरुले प्रतिनिधित्व गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार