कर्नाटक : आईपीएलको इतिहासमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले पहिलो पटक उपाधि जितेपछि सारा भारतभरि उत्सवको माहौल बन्यो। तर, यही खुसीको क्षण एक जनाको जीवनको अन्त्यको कारण बन्न पुग्यो।
कर्नाटकको बेलगावी जिल्लास्थित अवराडी गाउँका २५ वर्षीय मञ्जुनाथ कुम्भाराको आरसीबीको जित मनाउँदै गर्दा हृदयाघात कारण मृत्यु भएको हो।
विराट कोहलीका कट्टर प्रशंसक रहेका मञ्जुनाथ आरसीबीको उपाधि जितेपछि साथीहरूसँग पटाका फोकेर, नाचगान गरेर खुसी साट्दै थिए। अत्यधिक जोस र भावनात्मक उत्तेजनाले गर्दा अचानक उनी ढले र घटनास्थलमै ज्यान गुमाए।
चिकित्सकका अनुसार हृदयाघातको कारण उनको मृत्यु भएको हो। निरन्तर नाचगान, भावनात्मक उथलपुथल र उत्तेजनाले मुटुमा चरम दबाब सिर्जना भएको आशङ्का गरिएको छ।
आरसीबी र कोहलीप्रति गहिरो समर्पण राख्ने मञ्जुनाथले वर्षौँदेखि आफ्ना प्रिय टिमको जितको सपना देख्दै आएका थिए। उनका साथीहरूका अनुसार उनी कोहलीलाई भगवान सरह मान्दथे र हरेक खेलअघि टिमको जितको लागि पूजा–प्रार्थना गर्दथे।
मञ्जुनाथको मृत्युको खबर सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। कोहली र आरसीबीका फ्यानहरूले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै ‘उनले आफ्नो सपनाको दिन देखेँ, तर त्यो दिनमा नै अस्ताए’ जस्ता भावुक सन्देश लेखिरहेका छन्।
एकातिर आरसीबीको ऐतिहासिक जितको खुसी, अर्कोतिर एक समर्पित फ्यानको दुखद बिदाइ — यो घटनाले क्रिकेट प्रेमीहरूलाई भावुक बनाएको छ।
प्रतिक्रिया