विराटनगर : कोशी प्रदेशको एकमात्र महानगर विराटनगर महनगरपालिका विगत तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा चलिरहेको छ । संघीय सरकारबाट सहसचिव रामचरित्र मेहताको सरुवा भए पनि राजनीतिक असहमतिका कारण उनी कार्यालय हाजिर हुन सकेका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख ९ गते मेहतालाई विराटनगर महानगरमा खटाए पनि नगर प्रमुख नागेश कोइरालाको असहयोगका कारण मेहता मन्त्रालयमै बसेका छन । ‘अब विराटनगर गइँदैन’ मेहताले स्पष्ट पारेका छन् ।
नगर प्रमुख कोइरालाले उनीसँग कार्यगत समन्वय सम्भव नरहेको बताएका छन् । मेहता इटहरी उपमहानगरपालिकामा रहँदा इटहरीमा आर्थिक संकट आएको साथै कार्यक्षमतामा समेत प्रश्न उब्जिएको भन्दै मेयर कोइरालाले उनलाई आउन रोक लागाएका हुन् ।
मेहताले इटहरीमा कार्यरत रहँदा वडाकार्यालयको सर्भर डाउन गर्ने विषयले समेत मेयर कोइरालाको मेहतालाई ल्याउन अनिच्छा थियो ।
विराटनगरमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको अवकाशपछि रामप्रसाद ढुंगेलले फागुनदेखि कायममुकामको रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । महानगर उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार ढुंगेललाई आर्थिक अधिकारसहित जिम्मेवारी दिइएको छ ।
यद्यपि, सरोकारवालाहरूले कायममुकामको भरमा लामो समयसम्म महानगरको सञ्चालन हुनु दीर्घकालीन रूपमा प्रभावहीन हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । हालको अवस्थामा विराटनगर प्रशासनिक अन्योलमा फसेको देखिन्छ । राजनीतिक असहमतिका कारण सेवा प्रवाहमा प्रभाव पर्न थालेको संकेत देखिन थालेको छ ।
प्रतिक्रिया