धरान : गर्मीको चर्को प्रभावसँगै कोशी प्रदेशमा रगत अभाव हुन थालेको छ । प्रदेशभरका अस्पतालहरूमा दैनिक जसो सुत्केरी, डायलिसिस र क्यान्सर बिरामी तथा दुर्घटनाका घाइतेलाई रगतको आवश्यक पर्छ । तर, रगतको आपूर्ति ठप्पजस्तै हुँदा उपचार सेवा नै प्रभावित हुन पुगेको हो ।
प्रदेशका प्रमुख रक्तसञ्चार केन्द्रहरूबाट प्राप्त विवरणले देखाएअनुसार पनि कोशीमा रगतको चरम सङ्कट देखिएको छ । जसका कारण तत्काल रगतको आवश्यकता पर्ने बिरामी मर्कामा परेका छन् ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत आवश्यक पर्छ । तर, पछिल्लो समय त्यो परिमाणमा रगत उपलब्ध हुन सकेको छैन । रक्तदानमा गिरावट, गर्मीका कारण नियमित रक्तदाता नहुनु र बिरामीको चाप अत्यधिक हुनु अभावको प्रमुख कारण रहेको रक्तसञ्चार केन्द्रहरूले जनाएका छन् ।
विशेष गरी ‘एबी पोजेटिभ’ रगतको तीव्र अभाव देखिएको छ । जसका कारण ‘एबी पोजेटिभ’ रगत आवश्यक पर्ने बिरामी सबैभन्दा बढी समस्यामा परेका छन् । रगत अभावले बिरामीलाई उपचार गर्न ठुलो चुनौती रहेको धरान रक्तसञ्चार केन्द्रले जनाएको छ ।
केन्द्रकी प्रमुख कल्पना अधिकारीका अनुसार रगत अभावका बेला बिपीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आफैँ रक्तदान गरेर समस्या समाधानमा लाग्ने गरेका छन् । ‘कसैले आफन्त वा रक्तदाता खोजेर ल्याउँछन्,’ उनले भनिन्, ‘आफन्त वा रक्तदाता नभेटाउनेहरूलाई हामी आफैँले पहल गरेर रगतको जोहो गरिदिन्छौ ।’
अप्ठेरो परेको समयमा संस्थागत समन्वयभन्दा पनि व्यक्तिगत समर्पणले उपचार सम्भव बनिरहेको छ । ‘एबी पोजेटिभ’ मात्रै हैन, कोशी प्रदेशमा अन्य समूहको रगतको पनि अभाव छ ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्तसञ्चार केन्द्र विराटनगरका प्रमुख शिवानन्द यादवका अनुसार प्रदेशका सबै १२ जिल्लाका केन्द्रमा सबै रक्त समूहको अभाव छ । विराटनगरमा दैनिक ८० देखि सय पिन्ट रगत आवश्यक पर्ने गरे पनि हाल आएर माग उच्च छ ।
भारत र मधेस प्रदेशबाट समेत बिरामी आउँदा रगतको व्यवस्थापन थप कठिन भएको यादव बताउँछन् । ‘स्थिति अत्यन्तै गम्भीर छ । मागअनुसारको रगत छैन,’ उनले भने ।
चालु आर्थिक वर्षको १० महिनामा मात्र विराटनगरमा २२ हजार ४ सय ६७ पिन्ट रगत प्रयोग भएको छ । कोशी प्रदेशमा ५२ हजार १ सय ६० पिन्ट रगत खपत भएको तथ्याङ्कले देखाउँछ ।
धरान, उर्लाबारीको मङ्गलवारे र दमकका केन्द्रहरूबाट रगत ल्याएर अल्पकालीन समाधान गर्ने प्रयास भइरहे पनि दीर्घकालीन समाधानको विकल्प भने अझै तय भएको छैन । रगतको म्याद जम्मा ३५ दिन मात्र हुने भएकाले समयमै रगत सङ्कलन र वितरण गर्नु नितान्त आवश्यक भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
तर, रक्तदानप्रति जनचेतनाको अभाव, गर्मीका कारण रक्तदाताको सङ्ख्यामा गिरावट र बढ्दो बिरामीको चापले गर्दा समस्या झनै भयावह बन्दै गएको छ ।
सङ्कटपूर्ण घडीमा प्रादेशिक रक्तसञ्चार केन्द्रले नागरिक, सामाजिक सङ्घ संस्था, स्वयंसेवी समूह र युवाहरूलाई रक्तदानमा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ । ‘ज्यान बचाउने काममा सबैको सघन सहयोग आवश्यक छ,’ केन्द्रले भन्यो ।
केन्द्रले आपत्कालीन रक्तदानका लागि सबैमा आह्वानसमेत गरेको छ ।
प्रतिक्रिया