पाँचथर : पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेची राजमार्ग अन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज अचानक भाँचिँदा ६ जना कामदार गम्भीर घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार तीमध्ये एकको मृत्यु भएको आशङ्का गरिएको छ।
घटना शनिवार अपराह्न पुल जडानको अन्तिम चरणमा रहँदा भएको हो। गत वर्षको बाढीले पुरानो पुल बगाएपछि अस्थायी रूपमा नयाँ बेलिब्रिज निर्माण सुरु गरिएको थियो। उक्त पुल अन्तिम चरणमा पुगेको र सोही दिन जडान सक्ने तयारी भइरहेकै बेला ढलेको स्थानीय प्रशासनले जनाएको छ।
पुल निर्माणको क्रममा अचानक संरचना भत्किएपछि काममा संलग्न मजदुरहरू खोलामा खसेर घाइते भएका हुन्। गम्भीर घाइते भएकामध्ये बाराको सिमरा उपमहानगरपालिका–१२ का रूपलाल चौधरी, राजन चौधरी, राकेश चौधरी, भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरी रहेका छन्। घाइतेमध्ये अधिकांशको ढाड र टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी फिदिमस्थित जिल्ला अस्पताल पुर्याइएको छ। उनीहरू हाल त्यहीँ उपचाररत छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) कौशल कुमार बुढाथोकीको नेतृत्वमा ३५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए।
घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ। “पुल निर्माण अन्तिम चरणमा थियो, तर अचानक संरचना भाँचिदा पाँच मजदुर गम्भीर घाइते भएका छन्,” पोखरेलले बताए, “प्रारम्भिक जानकारीअनुसार तीमध्ये एकको मृत्यु भएको हुन सक्छ।”
दुर्घटना स्थल फिदिम बजारबाट करिब ११ किलोमिटर उत्तर–पश्चिममा पर्छ। पुल निर्माण कुन निर्माण कम्पनीको जिम्मामा थियो भन्ने विषयमा थप विवरण सार्वजनिक भइसकेको छैन। यद्यपि स्थानीय प्रशासनले घटनाको छानबिन सुरु गरिसकेको छ भने दुर्घटनाको यथार्थ पत्ता लगाउन प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।
स्थानीयवासीहरूले भने निर्माण कार्यमा सुरक्षात्मक मापदण्ड पालना नगरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। “बेलिब्रिज बनाउँदा मजदुरको सुरक्षामा ध्यान दिइएन,” एक स्थानीयले बताए, “यही लापरबाहीले ठुलो दुर्घटना निम्त्यायो।”
प्रमुख जिल्ला अधिकारी पोखरेलले दुर्घटनाको कारणबारे गहिरो अनुसन्धान गरेर मात्रै निष्कर्ष निकालिने बताए।
प्रतिक्रिया