पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

आइतबार, ०१ असार २०८२

पाँचथर : पाँचथर जिल्लाको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेलिब्रिज अचानक भाँचिदा तीन जना मजदुरको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

पुल भाँचिँदा काममा संलग्न मजदुरहरू खोलामा खस्दा ६ जना घाइते भएका थिए। घाइतेहरूलाई सुरुमा फिदिम अस्पताल लगिएको भए पनि अवस्था गम्भीर भएपछि सबैलाई विराटनगरस्थित नोबल अस्पतालमा थप उपचारका लागि पठाइएको थियो।

नोबल अस्पतालमा उपचारका क्रममा बाराको सिमरा उपमहानगरपालिका–१२ का रूपलाल चौधरी, राजन चौधरी र राकेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी उपरीक्षक कौशलकुमार बुढाथोकीले प्रदेश खबरलाई बताए ।

अन्य तीन जना भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको भने विराटनगरमै उपचार भइरहेको छ।

फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेची राजमार्ग अन्तर्गतको पुल शनिवार अपराह्न जडानको अन्तिम चरणमा पुगेको बेला ढलेको हो।

गत वर्षको बाढीले पुरानो पुल बगाएपछि अस्थायी रूपमा नयाँ बेलिब्रिज निर्माण सुरु गरिएको थियो। निर्माण अन्तिम चरणमा पुगेको र सोही दिन जडान सक्ने तयारी भइरहेकै बेला पुल भाँचिएको स्थानीय प्रशासनले जनाएको छ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो ।

हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो । फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ । बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए । 

२०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ । 

उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान  रु तीन करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो । 

यो पनि....

पाँचथरमा बेलिब्रिज भाँचिएर घाइते भएकालाई उपचारका लागि विराटनगर ल्याइयो

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा ६ कामदार गम्भीर घाइते, एकको मृत्युको आशङ्का

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार