इटहरी : एकीकृत सरकारी कर्मचारी सङ्गठन सुनसरीद्वारा प्रकाशित ‘सुनसरी दर्पण’ कृतिको पहिलो अङ्क शनिवार इटहरीमा एक विशेष समारोहबिच विमोचन गरिएको छ।
वार्षिक रूपमा प्रकाशन गरिने उक्त कृतिको लोकार्पण सङ्गठनका उपाध्यक्ष भुवन राईको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा सङ्गठनका महासचिव प्रकाश राई, केन्द्रीय सदस्यहरू, प्रदेश, जिल्ला र स्थानीय तहका कर्मचारी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो।
विमोचन समारोहलाई सङ्गठनको सुनसरी अध्यक्ष गणेश भट्टराईले सञ्चालन गर्दै जानकारी दिएअनुसार, कृति शिवराज खड्काको संयोजकत्वमा गोविन्द तिम्सिना, टेकबहादुर कार्की, निला ढुङ्गाना र गणेशप्रसाद धितालको सम्पादन टोलीले तयार पारेका हुन्।
कृतिमा ४३ जना लेखकहरूको विविध लेख, रचना तथा विचारहरू समावेश गरिएका छन्। सामाजिक गतिविधि, तथ्याङ्क, विचार र विश्लेषण प्रस्तुत गरिएको यो कृति आगामी दिनमा कर्मचारी क्षेत्रको ऐतिहासिक दस्ताबेजका रूपमा विकास हुने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव प्रकाश राईले हाल संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीहरूको मागहरू बेवास्ता गरिएको भन्दै चर्को असन्तुष्टि जनाए। “पटक–पटक उठाइएको मागलाई सुन्ने संवेदनशीलता नदेखिएको अवस्थामा अब आन्दोलनमार्फत सशक्त आवाज उठाउने बेला आएको छ,” उनले चेतावनी दिए।
उनले कर्मचारीको आत्मसम्मान, सेवा सुरक्षालगायतका विषयमा ऐनले न्याय नगरेको भन्दै आवश्यक परे रचनात्मक तरिकाले आन्दोलनलाई अघि बढाउने स्पष्ट सङ्केत दिए।
समारोहमा वक्ताहरूले ‘सुनसरी दर्पण’लाई सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, काव्यिक र सांस्कृतिक पक्षहरूलाई समेट्ने समसामयिक अभिलेखका रूपमा मूल्याङ्कन गरे। कर्मचारी मात्र नभई आम नागरिकसमेतका दृष्टिकोण उजागर गर्ने माध्यमका रूपमा कृतिको महत्त्व उल्लेख गरियो।
प्रतिक्रिया