चितवन : राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा शक्तिखोरको जङ्गलमा मृत अवस्थामा फेला परेका छन्।
छोरी भेट्न भन्दै घरबाट निस्किएका प्रजा हराएको १० दिनपछि मङ्गलवार राति शव अवस्थामा भेटिएका हुन्।
गत असार २८ गते दिउँसो कालिका नगरपालिका–९ स्थित शक्ति खोरमा बसोबास गर्ने छोरीकहाँ जान घरबाट निस्किएका प्रजा असार ३१ गतेदेखि सम्पर्कविहीन थिए। प्रहरीका अनुसार उनको खोजी भइरहेकै क्रममा राति १०:५५ बजे शक्तिखोरको जङ्गलमा गलेको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार शव अत्यधिक गलेको हुँदा पहिचान गर्न कठिन भए पनि आफन्तले लगाएको कपडाको आधारमा प्रजाको पहिचान गरेका हुन्।
प्रजाको मृत्युको कारण खुल्न नसकेकाले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया