खाँदबारी : संखुुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मङ्गलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन् । पहिरोमा ढुङ्गामाटोसहितको ठूलो ढिस्को खस्दा एउटा घर पूर्णरूपमा क्षति भएको छभने एउटा घरमा आंशिक क्षति भएको हो ।
पहिरोले पाँच परिवार पूर्ण विस्थापित भएका गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । उनका अनुसार पहिरोले लिलाबहादुर श्रेष्ठ (सात जना सदस्य), लाप्साङ शेर्पा (चार जना), मुस्कान शेर्पा (पाँच जना), सुब्बा श्रेष्ठ (तीन जना) र रञ्जना श्रेष्ठको परिवार विस्थापित भएका छन् ।
अध्यक्ष भोटेका अनुसार रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पीडित परिवारलाई स्थानीय युवाको सक्रियता, स्याक्सिला गोला प्रहरी चौकी तथा अध्यक्ष भोटेको पहलमा सुरक्षित स्थानमा अस्थायी रूपमा सारिएको छ ।
हाल उनीहरूका लागि पुनःस्थापना प्रक्रिया सुरु गरिएको छ । थप क्षति हुन नदिन पहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन भोटखोला गाउँपालिकाले आह्वान गरेको छ ।
प्रतिक्रिया