काठमाडौँ : काठमाडौँ महानगरपालिकाको व्यवहारलाई ‘गुण्डागर्दी शैली’को संज्ञा दिँदै कवाड व्यवसायीहरूले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।
कवाड व्यवसायी समाज नेपालले आज गृहमन्त्रीसमक्ष ज्ञापन बुझाउँदै व्यवसायी र श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग गरेको हो ।
सङ्घका अध्यक्ष राम केवल गुप्ताले हाल देशभर एक लाखभन्दा बढी मानिस कवाड व्यवसायसँग प्रत्यक्ष संलग्न रहेको बताउँदै वातावरणीय सरसफाइदेखि आयात प्रतिस्थापनमा यसको महत्त्वपूर्ण भूमिका रहेको दाबी गरे ।
स्टिल, प्लास्टिक, कागज, मदिराजन्य वस्तु, ब्याट्री र मेटल उद्योगका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्ने कवाड व्यवसायले व्यापार घाटा न्यूनीकरणमा समेत योगदान दिएको उनले बताए ।
तर व्यवसायीहरूले काठमाडौँ महानगरको ‘ज्यादतीपूर्ण रवैया’का कारण व्यवसाय सञ्चालन कठिन बनेको बताएका छन् ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, विगत दुई वर्षदेखि महानगरले प्रहरी परिचालन गरी व्यवसायी तथा सङ्कलक मजदुरमाथि कुटपिट, अपहरण तथा संरचना भत्काउनेजस्ता कार्य गरिरहेको छ । ती कार्यमा संलग्न सुरक्षाकर्मीले मजदुरहरूको टाउको फुटाउने र अङ्गभङ्ग हुने गरी आक्रमण गरेको गुनासो उनीहरूको छ ।
व्यवसायीहरूले मेयर बालेन्द्र शाहमाथि काठमाडौँबाट ‘गरिब र श्रमिक हटाउने नीति’ लिएको आरोप लगाउँदै यस्तो नीति प्रतिगामी रहेको बताएका छन् ।
ज्ञापनपत्रमा व्यवसायीको ज्यान–मालको सुरक्षा, ज्यादती रोक्न तत्काल हस्तक्षेप, र घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।
प्रतिक्रिया