भक्तपुर : नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई अस्वीकार्य ठहर गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पुनः सक्रियता पार्टीका लागि ‘गौण विषय’ भएको प्रस्ट पारेका छन् ।
नेपाल प्रेस सोसाइटीले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गौतमले एमाले केन्द्रीय कमिटी बैठकमा ७० वर्षे उमेर सीमा,कार्यकारी पदमा दुई कार्यकालको सीमा तथा पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्न नपाउने विषयमा विधिवत् र गम्भीर छलफलपछि निर्णय भएको बताए ।
‘पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन एमालेका लागि अस्वीकार्य छ’, उनले भने, ‘पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार हो, निर्णय सर्वसम्मतिले भएको हो ।’
कार्यक्रमका सभापति तथा नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले भण्डारीको राजनीतिक सक्रियताले राष्ट्रिय राजनीतिमा तरङ्ग उत्पन्न गरेको धारणा राखे ।
एमालेले गरेका निर्णयलाई अनुशासन, अनुभव र समावेशितामा आधारित दीर्घकालीन नीति भन्दै प्रचार विभाग प्रमुख गौतमले कुनै पनि व्यक्ति वा समूहको व्यक्तिगत आकाङ्क्षाभन्दा पार्टीको नीति र विधिलाई पहिलो प्राथमिकतामा राखिने बताए ।
प्रतिक्रिया