काठमाडौँ : सत्तारुढ गठबन्धनको नेतृत्व सम्हालिरहेको नेकपा (माओवादी केन्द्र) आन्तरिक द्वन्द्वले झन् अस्थिर बन्दै गएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बिचको मनमुटाब सार्वजनिक बहसमा रूपान्तरण भएपछि पार्टी नेतृत्वमै सङ्कट देखा परेको छ ।
शनिवार र आइतबार बसेको स्थायी कमिटी बैठकले समस्या समाधानको सङ्केत देखाए पनि कुनै ठोस निष्कर्ष निकाल्न सकेन ।
बैठकमै आरोप–प्रत्यारोप चलेपछि पार्टी झन् असहज बन्दै गएको छ । प्रभाकरले नेतृत्वको आत्मालोचना माग गर्दै पार्टी फुटाउने हल्ला नेतृत्वबाटै फैलाइएको आरोप लगाए भने अध्यक्ष प्रचण्डले भने उल्टै ‘गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ’ भन्दै जवाफी चेतावनी दिए ।
बैठकमा प्रभाकरले विगत दुई वर्षदेखि पार्टी फुटाउने हल्ला शीर्ष नेतृत्वबाटै चलाइएकाले पार्टी कमजोर भएको दाबी गरे । ‘३१ लाख मत घटेर ११ लाखमा खुम्चिएको जिम्मा को लिन्छ ?’ भन्दै उनले नेतृत्वको जिम्मेवारीबारे प्रश्न उठाए ।
पार्टी सचिव राम कार्कीले नेतृत्वमा आलोपालो प्रणाली (रोटेसन) ल्याउन प्रस्ताव गर्दा बैठकमा नयाँ तरङ्ग थपिएको छ ।
‘जनवादको अभ्यास गर्न नेतृत्व रोटेसनमा जाऔँ,’ भन्दै कार्कीले हरेक नौ महिनामा नेतृत्व फेर्ने व्यवस्था ल्याउनुपर्ने बताए । यसले प्रचण्डमाथि दबाब बढाएको देखिए पनि उनको पक्षधरहरूले उक्त प्रस्ताव तत्काल कार्यान्वयन योग्य नरहेको प्रतिक्रिया दिएका छन् ।
प्रमुख सचेतक हितराज पाण्डेले प्रभाकरमाथि नेतृत्व विरोधी अभिव्यक्ति दिने आरोप लगाउँदै भने, ‘उहाँ संसद् र सरकारमा हुँदा पनि पार्टीभन्दा आफूलाई फरक देखाउन खोज्नुहुन्छ, जुन पार्टी हितमा छैन ।’
यसैबिच पूर्वमन्त्री वर्षमान पुनले ‘पार्टी कमजोर हुनुमा सबैको दोष छ, नेतृत्वमात्र होइन’ भन्दै दुवै पक्षलाई संयमित बन्न आग्रह गरे । ‘व्यक्तिगत वा समूहगत स्वार्थका कारण असन्तुष्टि बाहिर ल्याउनु हुँदैन,’ उनले भने ।
यद्यपि, प्रभाकरले भविष्यमा नेतृत्व सम्हाल्न तयार रहेको सन्देश दिएको चर्चा चलेको छ । तर प्रचण्डले ‘विरासत धान्न सक्ने नेतृत्व देखेपछि मात्र पद छाड्ने’ बताउँदै दोस्रो तहका नेताहरूबिच प्रतिस्पर्धा भड्काउँदै आफू नेतृत्वमा रहिरहने रणनीति अख्तियार गरेको देखिएको छ ।
दुई शीर्ष नेताबिचको द्वन्द्व व्यवस्थापन गर्ने आशामा बसेको स्थायी कमिटी बैठक निष्कर्षविहीन रहँदा माओवादी केन्द्र पुनः अन्तर्द्वन्द्वको भुमरीमा फसेको सङ्केत नेताहरूले दिएका छन् ।
प्रतिक्रिया