बिराटनगरमा राधाकृष्ण रथयात्रा : सुन र मोबाइल चोरी, ५७ नियन्त्रणमा

सोमबार, ०२ भदौ २०८२

विराटनगर : ऐतिहासिक राधाकृष्ण रथयात्राले आइतबार विराटनगरलाई रङ्गिन बनायो । हजारौँ भक्तजनको उपस्थितिमा भव्यतापूर्वक सम्पन्न यो धार्मिक–सांस्कृतिक यात्राले यसवर्ष पनि विराटनगरको पहिचानलाई झल्कायो । 

तर, भिडभाडसँगै सुरक्षा निकायले थप सतर्क रहनुपर्ने अवस्था पनि देखियो । प्रहरीका अनुसार रथयात्राको अवसर छोपेर अवाञ्छित गतिविधि गर्ने ५७ जनालाई नियन्त्रणमा लिइएको छ । 

मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार पक्राउ परेकामध्ये ५३ जना पुरुष र ४ जना महिला छन् । महिलाहरूलाई राति छाडिएको भए पनि पुरुषहरू अझै प्रहरी नियन्त्रणमै छन् ।

प्रहरीले उनीहरूलाई ‘स्क्रिनिङ’ गरेर विगतमा आपराधिक गतिविधिमा संलग्न थिए कि थिएनन् भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेको छ । 

भिडमा चोरी र पकेटमारको जोखिम उच्च हुने भएकाले प्रहरीले विशेष निगरानी बढाएको थियो । तर, पनि रथयात्रामा ५ वटा सुनका सिक्री र ९ वटा मोबाइल चोरी भएको जारी प्रहरी प्राप्त गरेको छ ।

अझै उजुरी आउने क्रम जारी छ । नियन्त्रणमा परेकामध्ये केही व्यक्तिको साथबाट मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

एसपी चिमरियाले रथयात्रा भव्य मात्र नभई तुलनात्मक रूपमा शान्तिपूर्ण पनि भएको बताए । ‘उच्छृङ्खल, शङ्कास्पद र अवाञ्छित गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइएको छ । त्यस्तो कुनै ठूलो समस्या भएन । शान्ति सुरक्षाको अवस्था मजबुत नै बनाइएको थियो,’ उनले भने ।

हजारौँको सहभागिता, धार्मिक उत्साह र सांस्कृतिक रौनकले विराटनगरमा रथयात्रा यसपालि पनि विशेष बन्यो । तर, शान्त वातावरणमा यात्रा सम्पन्न पनि भिडसँगै हुने अवाञ्छित गतिविधि भने रोकिएन । त्यही क्रममा ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार