पर्सा : पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ देउरिया क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागुऔषध चरेस बरामद गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी नायब निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको ११ जनाको टोलीले बिहीबार दिउँसो खानतलासी गर्दा धान खेतभित्र लुकाइएको अवस्थामा ५४ किलो ४०० ग्राम चरेस भेटिएको हो।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली ल्याएर गरिएको तौलपश्चात् उक्त चरेस रामायण चौधरी (४६) को खेतमा फेला परेको प्रहरीले जनाएको छ। बरामद चरेससम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
बरामद स्थल प्रहरी चौकीबाट करिब सात किलोमिटर पश्चिम-दक्षिणतर्फ पर्छ। धान खेतमा चरेस कसले राखेको भन्नेबारे प्रहरीले खोजी जारी राखेको छ।
प्रतिक्रिया