काठमाडौँ : आज हरितालिका अर्थात् तीज पर्व मनाइँदै छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। तीजलाई नेपाली नारीले मौलिक पर्वका रूपमा मनाउने गरेका छन्।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा विवाहित महिलालाई पारिवारिक सुख, शान्ति र कल्याण मिल्ने र अविवाहित युवतीले सुयोग्य वर पाउने धार्मिक विश्वास छ।
तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरका शिवालयमा महिलाको घुइँचो लाग्छ। तीजको अवसरमा सरकारले आज महिलाहरूलाई बिदा दिएको छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिको गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।
पौराणिक कथाअनुसार वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए।
साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। तर यसको अर्थ सबै नारीले निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
आज व्रत बस्ने महिलाले हिजो मीठा मीठा परिकार दरका रूपमा खाएका छन्। विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ।
महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा तीजलाई उपयोग गर्ने गरेका छन्।
तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दै आएका छन्। पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक बढ्न थालेको भनेर कतिपयले आलोचना पनि गर्ने गरेका छन्।
महिनौँ अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा स्थापित गर्न खोजेको उनीहरूको तर्क छ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीहरूले जोड दिएका छन्।
एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा यसका लागि तोकिएको छ। दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ।
प्रतिक्रिया