धरान : भेडेटारबाट धरान ल्याउँदै गरेको २७५ केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा हिजो साँझ ७:२० बजे प्रहरीको संयुक्त टोलीले धरान उपमहानगरपालिका–४, बुद्ध बिहार क्षेत्रबाट लागुऔषध गाँजा बरामद गरेको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ ल्याउँदै गरेको अवस्थामा लागुऔषध गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन राई रहेका छन्। प्रहरीले उनलाई शंका लागेपछि रोकि चेकजाँच गर्दा २ सय ७५ किलो अवैध गाँजा फेला परेको थियो। पक्राउ गरिएको गाँजा र पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय धरानमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया