प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने

सोमबार, १३ असोज २०८२
तस्बिर : फाइल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् ।

सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आँफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् ।

उनले भनेकी छन्, ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले नाफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ । तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैको टिका जमरा नलगाउनु हुने र देशवासीहरूलाई सिमित टिका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ ।’

युवापुस्ताहरूको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि उनको भनाई छ ।

साथै, उनले यस सन्दर्भमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भने कामना गर्दै मुलुकमा सुख शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्गल्य गरी देश विकासमा लाग्न सबैमा अपील पनि गरेकी छन् ।

उनले बडादसै २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना पनि व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार