महाअष्टमीमा बलि : केवल पशुबलि होइन, आत्मिक बलिदान पनि हो

मंगलबार, १४ असोज २०८२

काठमाडौँ : आज देशभर महाअष्टमी पर्व श्रद्धा, भक्ति र परम्परागत विधिपूर्वक मनाइँदैछ। आश्विन शुक्ल अष्टमीका दिन पर्ने महाअष्टमी बडादसैँको आठौँ दिनको रूपमा मनाइन्छ, जसमा दुर्गा भवानीका विभिन्न रूपहरूको विशेष पूजा आराधना गरिन्छ।

महाअष्टमीलाई दुर्गा भवानीको शक्ति प्रकट हुने दिनको रूपमा लिइन्छ। वैदिक–सनातन परम्पराका ग्रन्थहरूमा, जस्तै दुर्गा सप्तशती, श्रीमद्भागवत र देवी स्तोत्र, यस दिनको महत्त्व स्पष्ट गरिएको छ।

आजको दिन देशका प्रमुख शक्तिपीठहरू, घर र कोतलमा शास्त्रीय विधिअनुसार पशु बलि दिई दुर्गा भवानीको पूजा आराधना गरिँदै छ।

वेद गुरु रवीन्द्र आचार्यका अनुसार, “महाअष्टमी भनेको भगवती पराशक्तिको प्रकट हुने दिन हो। असत्य र अधर्ममाथि सत्य र धर्मको विजयको प्रतिकका रूपमा यो दिन लिइन्छ।”

उनले थपे, “आजको दिन भगवती माताले दुष्ट र दैत्यहरूको विनाशका लागि शक्ति प्रकट गर्नुभएको दिन हो। त्यसैले आज कालरात्रि देवीको आराधना र महागौरी देवीको विशेष उपासना गरिन्छ।”

गुरु आचार्यले नेपाल न्यूज बैङ्कसँगको कुराकानीमा भने, “अष्टमी तिथि प्रत्येक पक्षमा आउँछ, तर आजको अष्टमी विशेष हो, किनभने आजैको दिन पराशक्ति जगदम्बिका माताको प्रकट भएको विश्वास गरिन्छ।”

यस दिन विशेष रूपमा भगवती कालरात्रिको पूजा गरिन्छ भने महागौरी देवीको उपासना गरी भक्तजनहरूले अष्टमी पर्व मनाउने चलन छ। दुर्गा पूजाको आठौँ दिन पर्ने महाअष्टमीमा शक्ति रूपी देवीको आराधना गर्दै, भक्तजनहरू विभिन्न शक्तिपीठ, मन्दिर र धार्मिक स्थलहरूमा पूजापाठ, हवन तथा बलि दिने परम्परा पालना गर्छन्।

वेद गुरुका अनुसार, महाअष्टमीको आध्यात्मिक सन्देश भनेको “असत्य, अन्याय र अधर्ममाथि सत्य, न्याय र धर्मको विजय हो।”

महाअष्टमीमा बलि दिने प्रचलन पनि छ। गुरु आचार्यका अनुसार, बलि प्रथा हाम्रो वैदिक, धर्मशास्त्रीय र पौराणिक ग्रन्थहरूमा आधारित छ।

उनले भने, “बलि भनेको केवल पशुबलि मात्र होइन, आत्मिक बलिदान पनि हो। वेदमा उल्लेख अनुसार, काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता दुर्गुणहरूको बलिदान गर्नु नै वास्तवमा भगवतीप्रतिको समर्पण हो।”

गुरु आचार्यले स्पष्ट पारे, “शास्त्रमा उल्लेख भएअनुसार बलि प्रथा केवल परम्परागत अभ्यास मात्र होइन, भगवतीको प्रसन्नताको निम्ति गरिएको कर्मपद्धति पनि हो। देवीभागवत, दुर्गासप्तशती लगायतका ग्रन्थहरूमा यसको उल्लेख भेटिन्छ।”

महाअष्टमीका दिन देवी महागौरीको विशेष पूजन गरिन्छ। कतिपय स्थानमा नवदुर्गाको स्थापना पनि अष्टमीकै दिन गरिन्छ। गृहस्थ परम्परा अनुसार, केराको पातमा नवथुप्रा स्थापना गरी जनै, सुपारी, ताम्र, रजत वा स्वर्ण मुद्रा राखी जयन्ती र मङ्गला देवीको पूजा गरिन्छ।

फूलपातीसँग जोडिएको पूजाको विशेषता पनि यसै दिन उल्लेख छ। अघिल्लो दिन भित्र्याइएको फूलपातीमार्फत देवीलाई नवदुर्गाको स्वरूपमा पूजा गरिन्छ। यस दिन भगवतीले अस्त्र धारण गरेर असत्य र आसुरी शक्तिको विनाश गर्नुभएको विश्वास गरिन्छ।

त्यसैले अष्टमीका दिन घरमा रहेका अस्त्र–शस्त्र, जस्तै तरबार, ढाल, अङ्कुश आदिको पनि विशेष पूजन गरिन्छ। भगवतीको रौद्र रूप महाकाली, महागौरी आदि स्वरूपको आराधना यसै दिन गरिन्छ। यही कारणले अष्टमीलाई शक्ति आराधनाको उत्कर्ष दिन मानिन्छ।

संस्कृतिविद् गुरु नारायण प्रसाद आचार्यका अनुसार महाअष्टमी देवीको अत्यन्तै प्रिय तिथि हो। अष्टमी नवरात्रिको बिचको तिथि भएकाले विशेष मानिन्छ।

अष्टमी तिथिमा पितृ पक्षमा रोकिएको श्राद्ध वा पूर्णिमाको दिनको मृत्यु भएका व्यक्तिको श्राद्ध गर्नुपर्ने प्रचलन पनि शास्त्रीय मान्यता अनुसार यही दिन गर्नुपर्ने हुन्छ। घटस्थापनापछि शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा लगायत नवदुर्गा भवानीको स्थापना गरी पूजा गरिन्छ।

कालरात्रिको पूजा पनि अष्टमीसँग जोडिएको छ। असुर र दैत्यहरूको शक्ति रातमा बढ्ने भएकाले देवीको आराधनाबाट त्यसलाई नष्ट गर्ने सामर्थ्य प्राप्त हुन्छ।

महाअष्टमीमा कतिपय ठाउँमा बलि दिने प्रथा पनि छ। आचार्यका अनुसार, “बलिको अर्थ जनावर मात्र चढाउनु होइन, **हाम्रो भित्रको नकारात्मक ऊर्जालाई नष्ट गरेर सकारात्मक ऊर्जा ल्याउनु नै असली बलि हो।”

परम्पराअनुसार कतै घिरौँला, कतै कुबिन्डो जस्ता तरकारीकै बलि दिने चलन पनि छ। यसलाई आ–आफ्नो मान्यता र विधानअनुसार गर्ने गरिन्छ।

संस्कृतिविद् आचार्य नारायण प्रसादले भने, “अष्टमीमा गरिएको बलिको **मर्म भनेको नकारात्मकतालाई नष्ट गरेर सकारात्मकता जगाउनु हो।”

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार