दसैँमा मासु कसरी खाने?

मंगलबार, १४ असोज २०८२

नारायण अधिकारी

चितवन : चाडपर्व भन्नासाथ हामी हर्षोल्लासका साथ मनाउँछौँ तर खानपिन र आहारविहारमा लापरबाही गर्ने चलन छ। चिकित्सकहरूले दसैंमा मासु स्वस्थ तरिकाले पकाएर खान सुझाव दिन्छन्।

आज दसैंको महाअष्टमी, घरघरमा खसी, बोका, राँगा, च्याङ्ग्रा लगायतका पशु चौपायको बलि दिएर मासु खाने प्रचलन छ। चिकित्सकहरू भन्छन्, मासु नै नखानु भन्दा पकाउने तरिकामा ध्यान दिनु बढी जरुरी छ। मासु आफैंमा खराब नभए पनि पकाउने तरिकाले स्वास्थ्यमा असर गर्न सक्छ।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी भन्छन्, “खानपिनमा सामान्य ध्यान नदिँदा दसैंमा उच्च रक्तचाप, मुटु, मधुमेह, पेटजन्य समस्या, झाडाबान्ता, कब्जियत, युरिक एसिड वृद्धि तथा ग्यास्ट्रिक रोगको जोखिम बढ्छ। एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाने चलनले रोगको जोखिम बढाउँछ। बोसो नभएको ताजा मासु थोरै–थोरै गरेर खान सकिन्छ।”

डा. अधिकारीले पोलेर वा तारेर मासु प्रयोग नगर्न सुझाव दिए। चाडपर्वमा बाहिर हिँडडुल धेरै हुने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको उल्लेख गर्दै उनले भने, “नुन, चिल्लो, चिसो, गुलियो बढी खानु र मदिरा तथा चुरोट मिसाउनु स्वास्थ्यका लागि जोखिमपूर्ण छ।”

शाकाहारीहरूले पनि धेरै मिठाई र पनिर खान नहुने डा. अधिकारीले बताए। मिठाई लामो समयदेखि राखिएको हुनाले स्वास्थ्यमा असर गर्छ। पनिर धेरै खाँदा कोलेस्ट्रोल बढ्ने हुँदा मात्रामा सेवन गर्नुपर्छ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. गुरुशरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने बताए। उनले भने, “दसैंमा मासु खान नहुने होइन, तर बासी नखाने, सागसब्जी र गेडागुडी पनि खानामा समावेश गर्ने, कुखुरा वा माछा प्राथमिकता दिने उत्तम हुन्छ।”

डा. विनय ठाकुरले बोसो भएको मासु आगोमा पकाउँदा उत्पन्न हुने प्रतिक्रियाले आन्द्राको क्यान्सरको जोखिम बढाउने बताए। उनी भन्छन्, “धुवाँसँग मासु पकाउँदा रासायनिक प्रक्रिया हुँदै क्यान्सर हुने सम्भावना बढी हुन्छ।”

चितवन मेडिकल कलेजका डा. सौरभ खतिवडाले भने, बोसो बढी मासु खाँदा मोटोपना, एलडीएल कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढ्ने, पाचनमा समस्या र चिनीको मात्रा लामो समयसम्म बढ्ने जोखिम रहेको बताए।

“पोलेको, भुटेको वा अत्यधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ। कम मात्रामा बोसोरहित मासु खानु उत्तम हुन्छ।”

डा. श्यामराज रेग्मीले मुटुरोगीले खानपिनमा विशेष सावधानी अपनाउनुपर्ने बताए। चिल्लो, बोसो र मासु धेरै खाँदा मुटुमा असर पर्न सक्ने, पाचन शक्ति कमजोर हुने र अप्रत्यक्ष रूपमा मुटुको काममा प्रभाव पर्न सक्ने उनले बताए।

सारांशमा, चिकित्सकहरूले दसैंमा:

  • ताजा मासु थोरै–थोरै खान,

  • पोलेर वा तारेर मासु नखान,

  • सागसब्जी, गेडागुडी र माछा प्राथमिकता दिन,

  • मिठाई र पनिर मात्रामा सेवन गर्न,

  • चिल्लो, नुन, मदिरा र चुरोट कम गर्न सुझाव दिएका छन्।

यसरी खानपिनमा ध्यान दिएर दसैं मनाउँदा स्वास्थ्यलाई जोखिम नपर्ने र रमाइलो पनि सुरक्षित रहन्छ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार