काठमाडौँ : आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ ।
नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ ।
पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरू पूर्णिमाका दिनसम्म मान्यजन कहाँ पुगेर टिका र आशीर्वाद लिने गर्दछन् ।
प्रतिक्रिया