देश, जनता, लोकतन्त्र र संविधानका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति

सरकारलाई निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सुझाव

शुक्रबार, २४ असोज २०८२

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचनमा जानु नै एक मात्र विकल्प भएको बताएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण राजनीतिक दलहरू एकजुट भएर तयारी गर्न आग्रह गरे । 

राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा आह्वान गरेको सर्वदलीय बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष दलका नेताहरू सहभागी थिए । बैठकमा राष्ट्रपतिले सरकारलाई शान्ति–सुरक्षाको प्रत्याभूति गर्दै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने स्पष्ट सन्देश जनतासमक्ष पु¥याउन सुझाव दिएका छन् ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलहरूले एकजुट भएर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । “निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने देश अनिश्चिततामा पर्न सक्छ,” राष्ट्रपतिले बैठकमा चेतावनीस्वरूप भनेका थिए ।

उनले राजनीतिक दलहरूबीच उत्पन्न भ्रम र द्विविधा हटाउँदै जनतामाझ स्पष्ट सन्देश लिएर जान आग्रह गरेका छन् । जेन्जी आन्दोलनका मागहरूप्रति संवेदनशील हुँदै ‘दलहरूले कन्फ्युजन सिर्जना नगरी माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने’ राष्ट्रपतिले बताएका छन् । 

बैठकमा सहभागी दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू सधैं चुनावका पक्षमा रहने स्पष्ट पारे । तर अहिलेको सुरक्षा अवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन सम्भव हुन्छ कि भन्ने प्रश्न उठाएको बताउँदै सरकारले तत्काल विश्वसनीय सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । 

प्रधानमन्त्री कार्कीको आश्वासन
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन दलहरूको सहमतिको आधारमा मात्र सम्भव हुने बताउँदै सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण बनाउन आवश्यक सबै तयारी गर्ने आश्वासन दिएकी छिन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार