इटहरीमा कृषि उद्योग मार्ट सञ्चालनमा

शुक्रबार, २४ असोज २०८२

इटहरी : इटहरीमा कृषि उद्योग मार्ट सञ्चालनमा आएको छ । साउन महिनामा सञ्चालनमा आएको मार्टको शुक्रवार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

इजरायलमा कृषि कर्म गरेर फर्किएका खोजराज कटुवाल र राजीव खनालले उक्त कृषि उद्योग मार्ट सञ्चालनमा ल्याएका हुन् ।

सञ्चालक कटुवालका अनुसार कृषि उद्यमीले उत्पादन गरेका सामग्री बिक्री केन्द्रको अभावमा प्रदेशस्तरीय मार्ट स्थापना गरिएको हो, जसका कारण अब उद्यमीहरूलाई आफ्ना उत्पादन बिक्री गर्न सहज हुने बताइएको छ ।

‘कृषि उद्यमीले उत्पादन गरेका सामान बिक्री गर्ने केन्द्र नहुँदा चिन्ता लागेको थियो, त्यसैले यो मार्ट स्थापना गरिएको हो,’ कटुवालले भने, ‘यस मार्टमा स्वदेशी उत्पादनका करिब ८० प्रतिशत सामान उपलब्ध छन् ।’

मार्टमा आधुनिक औजार र उपकरणसँगै कृषि उद्यमीहरूले उत्पादन गरेका विभिन्न सामग्रीहरू बिक्रीका लागि राखिएका छन् ।

सञ्चालक कटुवालले स्वदेशी सोच र स्वदेशी पूँजी लगानीका आधारमा यो मार्ट सञ्चालनमा ल्याइएको हुँदा सरकारले यसप्रति संरक्षण र प्रोत्साहनको नीति लिनुपर्ने सुझाव पनि दिएका छन् ।

कोशी प्रदेशका कृषि उद्यमीमध्ये १३ जनाले उत्पादन गरेका सामग्रीहरू पनि यसै मार्टमा उपलब्ध हुने व्यवस्थापक रवीन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार बदलिँदो समय र प्रविधिअनुसार आधुनिक उपकरण तथा औजार सहज रूपमा उपलब्ध हुने गरी उत्पादनकर्ता र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर यो मार्ट स्थापना गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार