कामना सेवा विकास बैङ्कको अध्यक्षमा पुनः सुदिप आचार्य

बैङ्कलाई डिजिटल रूपान्तरणको नयाँ युगतर्फ लैजाने प्रतिबद्धता

शुक्रबार, २४ असोज २०८२

काठमाडौँ : कामना सेवा विकास बैङ्क लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः सुदिप आचार्य चयन भएका छन्।

शुक्रवार सम्पन्न बैङ्कको १९औँ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको ४०१औँ बैठकले सर्वसम्मत रुपमा आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो। उनी यसअघि पनि बैङ्कको अध्यक्ष रहँदै आएका थिए र उनको नेतृत्वमा बैङ्कले सेवा विस्तार, डिजिटल बैंकिङ र आर्थिक सुदृढीकरणमा उल्लेखनीय प्रगति गरेको मानिन्छ।

सञ्चालक समितिका नयाँ सदस्यहरूमध्ये संस्थापक समूहबाट आचार्यसहित भिमप्रसाद तुलाचन, चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध चयन भएका छन्।

बैङ्कको साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनका अनुसार कामना सेवा विकास बैङ्कले पछिल्ला वर्षहरूमा ग्राहकमैत्री सेवा, डिजिटल नवप्रवर्तन र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारमा विशेष फोकस गरेको छ। अध्यक्ष आचार्यको नेतृत्वमा बैङ्कले मोबाइल बैंकिङ, क्युआर भुक्तानी, एटिएम जालो विस्तार र ग्राहक सेवाको गुणस्तरमा सुधार ल्याएको बताइएको छ।

सुदिप आचार्य बैंकिङ क्षेत्रका अनुभवी तथा दूरदर्शी नेतृत्वका रूपमा चिनिन्छन्। उनी बैंकिङ, बीमा र पूँजी बजार क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव बोकेका छन्। बैङ्कको संस्थापक सदस्यका रूपमा उनले कामना सेवालाई राष्ट्रिय स्तरको प्रतिष्ठित वित्तीय संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

अध्यक्षमा पुननिर्वाचित भएपछि आचार्यले आफ्नो कार्यकालमा बैङ्कलाई डिजिटल रूपान्तरणको नयाँ युगतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। “ग्राहक सन्तुष्टि, सेवा विस्तार र प्रविधिमैत्री बैंकिङ हाम्रो प्रमुख प्राथमिकता हुनेछ,” उनले भने, “कामना सेवाले अब ग्रामीणदेखि शहरी क्षेत्रमा समान पहुँचसहितको समावेशी वित्तीय सेवा उपलब्ध गराउनेछ।”

कामना सेवा विकास बैङ्क हाल देशभरका विभिन्न स्थानमा शाखा र सेवा केन्द्रमार्फत लाखौँ ग्राहकलाई सेवा दिइरहेको छ। बैङ्कले खुद नाफा, निक्षेप र कर्जा सन्तुलनमा समेत निरन्तर वृद्धि गर्दै आएको छ।

सुदिप आचार्यको पुनरागमनसँगै बैङ्कको आगामी चार वर्षको कार्यकाल डिजिटल नवप्रवर्तन, वित्तीय पहुँच र संस्थागत सुदृढीकरणको दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार