काँग्रेस महाधिवेशन: देउवाको उत्तराधिकारी को होला ?

शुक्रबार, १९ मंसिर २०८२

काठमाडौँ : नेपाली काँग्रेसको १५औँ महाधिवेशनको मिति टुङ्गो लागेसँगै सभापति र महामन्त्रीसहितका महत्त्वपूर्ण पदमा उम्मेदवारी घोषणा, प्रचार र प्यानल निर्माणको तयारी सुरु भएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवा, कोइराला समूह र नेतृत्व हस्तान्तरण पक्षधरका प्यानल तथा प्रचारले तीव्रता पाएको छ। पार्टी विधानअनुसार लगातार दुई कार्यकाल सभापति भएका शेरबहादुर देउवा १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन सक्दैनन्। जेनजी आन्दोलनका क्रममा पनि उनलाई टार्गेट गरिएको अवस्थामा देउवाले पुनः सभापति नहुने घोषणा गरिसकेका छन्। देउवानिकट नेताहरूले आफूलाई उत्तराधिकारी प्रमाणित गर्दै सभापतिमा उम्मेदवारी दिने तयारी थालेका छन्।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आउँदो २६–२८ पुसमा १५औँ महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याण गुरुङसहितका नेताहरू १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार बन्ने घोषणासहित आन्तरिक तयारीमा जुटेका छन्।

पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महतसहितका नेता पनि सभापतिमा उम्मेदवारी दिने ‘boutमा आफूनिकटका नेतासँग छलफल गरिरहेका छन्।

नेताहरू सभापति देउवाको ‘आशीर्वाद’सहित संस्थापन पक्षको आधिकारिक उम्मेदवार बन्न खोजेका छन्। देउवासँग भेटघाट गरेका यी नेताहरूलाई देउवाले स्पष्ट रूपमा समर्थन भने दिएका छैनन्। तर, साझा उम्मेदवार टुङ्गो लगाएर आउन र त्यस्ता उम्मेदवारलाई समर्थन गर्ने सङ्केत देउवाले दिएका छन्।

एक सभापति आकाङ्क्षीले भने, “सभापति शेरबहादुर देउवासँग आगामी सभापतिको उम्मेदवारको ‘बारेमा हामीले एक्लै र सामूहिक रूपमा छलफल गरेका छौँ। सभापतिज्यूले कसैलाई समर्थन गरेको अवस्था छैन। उहाँले भन्नुभएको छ—तपाईँहरूले साझा उम्मेदवार टुङ्गो लगाउनुहोस्, र टुङ्गो लगाएको उम्मेदवारलाई मेरो समर्थन रहनेछ। हामी पनि साझा उम्मेदवार टुङ्गो लगाउने गरी छलफल गरिरहेका छौँ, छिट्टै नै टुङ्गो लाग्नेछ।”

पार्टी विधानअनुसार लगातार दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने व्यवस्था भएकाले देउवा आफैँ तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन सक्दैनन्। १३औँ र १४औँ महाधिवेशनमा सभापति भएपछि देउवाले आफूनिकट नेतालाई समर्थन गरेर अघि बढ्ने तयारी गर्दैछन्।

देउवानिकट नेता निधिले भने, “आफूहरूको छलफल निरन्तर चलिरहेको छ। हामीले संस्थापन पक्षबाट साझा उम्मेदवार टुङ्गो लगाएर अगाडि बढ्नेछौँ। सबैलाई समेटेर एक बलियो काँग्रेस बनाउने ‘boutमा पनि छलफल जारी छ।”

महाधिवेशनका लागि सबैभन्दा पहिला डा. शेखर कोइरालाले उम्मेदवारी घोषणा गरेका थिए। उनले झन्डै एक वर्षअघि धनगढीमा आयोजित कार्यक्रममा १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए र आन्तरिक तयारी पनि थालेका छन्।

कोइरालाले १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका थिए। दोस्रो चरणको निर्वाचनमा देउवाले २,७३३ मत पाएर विजयी भए भने कोइरालाले १,८५५ मत पाएका थिए।

१४औँ महाधिवेशनमा सभापति पदमा २२ मत ल्याएका कल्याण गुरुङले यस पटक प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले भने, “सभापति पदमा उम्मेदवारी दिन्छु। यस पटक पुरै प्यानलसहित उम्मेदवारी दिने तयारी गरेको छु। साथीहरूको सहयोगले पार्टी बलियो र सशक्त बनाउने योजना मेरो छ।”

काँग्रेस नेता निधि र सिंहले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका थिए। पहिलो चरणको निर्वाचनबाट बाहिरिएका निधि र सिंहले दोस्रो चरणमा देउवाको समर्थन गरेका थिए। अर्का नेता सिटौला १३औँ महाधिवेशनमा सभापति उम्मेदवार बने पनि १४औँ महाधिवेशनमा केवल केन्द्रीय सदस्यको उम्मेदवार बने। गच्छदार र महत अहिलेसम्म उम्मेदवारी दिएका छैनन्, तर १५औँ महाधिवेशनमा उम्मेदवारी दिने ‘boutमा छलफल गरिरहेका छन्।

कोइराला परिवारको साझा उम्मेदवार शेखर
१५औँ महाधिवेशनमा कोइराला परिवारबाट सभापति पदका लागि एक जना मात्रै उम्मेदवार हुनेगरी छलफल भइरहेको छ। कोइराला परिवारबाट शेखर कोइराला, शशाङ्क कोइराला र सुजाता कोइराला सक्रिय छन्।

शशाङ्कले भने, “म आफैँ उम्मेदवार हुन सक्छु, तर यस पटक दाइ शेखरलाई अगाडि बढाउने गरी छलफल भइरहेको छ। सुजातासहित सबैको सहमतिमा शेखरलाई सभापतिमा विजयी बनाउने तयारीमा छौँ।”

शेखरसँगै रहेका गगनकुमार थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। सभापति पदमा दौडमा रहेका थापालाई सम्मानजनक जिम्मेवारीसहित साथ लिएर अघि बढ्ने तयारी शेखरले गरेका छन्।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार