धरान : राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको सि.सं.५१औँ एनसिसी जुनियर डिभिजन तालिमको तेस्रो चरणको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
मोरङको याङ्शिलास्थित पूर्वी तालिम शिक्षालयमा गत पुस ११ गतेदेखि सञ्चालन भएको तेस्रो चरणको तालिम आज बुधबार सम्पन्न भएको हो ।
उक्त तालिममा कोशी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशका १३ जिल्लाका १८ विद्यालयबाट सहभागी ५३१ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा श्री सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) का महानिर्देशक उपरथी नकुलबहादुर रायमाझीले सम्बोधन गर्दै तालिममार्फत प्राप्त सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले शैक्षिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रिय सामाजिक उत्तरदायित्व र अनुशासनसम्बन्धी विविध पक्षहरूलाई सहज रूपमा सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।
दीक्षान्त समारोहका अवसरमा तालिम पूरा गरेका एनसिसी जुनियर डिभिजनका क्याडेटहरूले खुकुरी ड्रिल, तेक्वान्दो पी.टी., एरोबिक्स तथा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन गरेका थिए । साथै क्याडेटहरूले ब्यान्ड बाजासहितको सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै आकर्षक कवाज प्रदर्शन गरेका थिए ।
कार्यक्रमका क्रममा उपरथी रायमाझीले उत्कृष्ट क्याडेट छात्र छात्रालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै प्रधानाध्यापक तथा समन्वय शिक्षकहरूलाई कदर पत्र र प्रमाणपत्र वितरण गरेका थिए । साथै दीक्षान्त समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने क्याडेट तथा विद्यालयलाई कदर पत्र र प्रमाणपत्र प्रदान गरिएको थियो । झापाको श्री ईष्ट होराइजन अङ्ग्रेजी माध्यमिक विद्यालयकी सीनियर अन्डर अफिसर क्याडेट विनिशा बस्नेत सर्वोत्कृष्ट छात्रा क्याडेट घोषित भएकी थिइन भने सुनसरीको जगन्नाथ डेड राज जनता माध्यमिक विद्यालयका कम्पनी जुनियर अन्डर अफिसर क्याडेट नवीन बी.क सर्वोत्कृष्ट छात्र क्याडेट घोषित भएका हुन् ।

यसैगरी विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्दै झापाको श्री ईष्ट होराइजन अङ्ग्रेजी माध्यमिक विद्यालय ‘बेस्ट प्लाटुन’बाट पुरस्कृत भएको छ । स्यान्ड मोडल ब्रिफिङ प्रतियोगितामा वेष्ट स्पिकर बन्दै विनिशा बस्नेत प्रथम भएकी छिन छ भने पब्लिक स्पिकिङ प्रतियोगितामा सिन्धुलीको कमला माध्यमिक विद्यालयकी कम्पनी जुनियर अन्डर अफिसर क्याडेट छत्रकुमारी पोखरेल प्रथम भएकी छिन । साथै गणतर्फ श्री भगवतीदल गण, श्री भवानी दल गण र श्री अरिदमन गणलाई प्रशंसा पत्र प्रदान गरिएको राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयले जनाएको छ ।
दीक्षान्त समारोहमा पूर्वी पृतना हेडक्वाटरका सहायक रथी युवराज कार्की, नं.२१ बाहिनी अड्डाका बाहिनीपति मणिकुमार श्रेष्ठ,नं.१८ बाहिनी अड्डाका बाहिनीपति विमल कुमार बस्नेत, राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठ, श्री भगवतीदल गणका प्रमुख सेनानी राजन भूजु, विभिन्न गण तथा गुल्मका युनिटपति, अभिभावक तथा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
_FKcR0YJbao.jpg)
समारोहमा राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठले क्याडेटहरूलाई राष्ट्रिय झण्डा र सेवा दलको झन्डासहित शुभकामना सन्देश दिनुका साथै शपथ ग्रहण गराएका थिए ।
_2S9mhRgKXC.jpg)

_OWq4m97GJ5.jpg)
_n44R4B9NqH.jpg)
प्रतिक्रिया