गैरदलीय मन्त्री कि भावी उम्मेदवार? ललितपुर–२ मा सञ्चारमन्त्री खरेल घरदैलोमै जनमत बुझ्दै

सोमबार, ०५ माघ २०८२
file pic

काठमाडौँ : अन्तरिम सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको दैनिकी पछिल्ला दिनहरूमा आसन्न निर्वाचनका लागि उपयुक्त क्षेत्र खोज्दै जनमत बुझ्नमै केन्द्रित देखिएको छ ।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित गैरदलीय भूमिकामा मन्त्रिपरिषद्मा समेटिएका विशेषज्ञ मन्त्री खरेल पछिल्लो समय ललितपुर–२ मा सक्रिय रूपमा घरदैलो शैलीका भेटघाटमा जुटिरहेका छन् ।

मन्त्रीका रूपमा प्राप्त सरकारी झन्डावाल गाडी प्रयोग गरी खरेलले हरेक दिन आफ्नो निजी निवास रहेको ललितपुर क्षेत्र नं २ का विभिन्न टोलमा पुगेर सामाजिक तथा राजनीतिक अगुवासँग भेटघाट गर्दै आएका छन् ।

जेनजी आन्दोलनपछि गठित सरकारमा सञ्चार क्षेत्रका विज्ञका रूपमा दलीय आबद्धता नरहेको व्यक्ति भन्दै मन्त्री बनेका खरेलको राजनीतिक आबद्धताको विषय भने पटक–पटक विवादमा पर्दै आएको छ ।

मन्त्री बन्नुअघिसम्म नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेको दाबी गर्दै आलोचना खेप्दै आएका खरेल सरकारको राजनीतिक संवाद समितिको सदस्यका रूपमा विभिन्न दलका पार्टी कार्यालय पुग्दा पनि चर्चा भएका थिए ।

पछिल्ला केही दिन उनी टोल–टोलमा पुगेर जनमत बुझ्दै रास्वपाका लागि माहौल बनाइरहेको तथा सोही पार्टीबाट उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा चल्न थालेपछि अन्तरिम सरकार नै सुरुदेखि नै रास्वपाका सार्वजनिक नेताहरूको प्रभावमा रहेको जस्तो देखिएको टिप्पणीसमेत हुन थालेको छ ।

यःमरी पुन्हीका दिन मन्त्री खरेल ललितपुर–२ अन्तर्गत ललितपुर महानगरपालिका वडा नं १६ को बंगलामुखी क्षेत्र पुगेका थिए । कुम्भेश्वर र बङ्गलामुखीमा हजारौँ भक्तजन सहभागी हुने अवसरमा पूजाका नाममा पुगेका उनले स्थानीयसँग लामो समय संवाद गर्दै राजनीतिक दल र जेनजी आन्दोलनपछिको जिम्मेवारीबारे आफ्ना धारणा राखेको स्थानीयको भनाइ छ ।

यसअघि १५ मङ्सिरमा खरेल ललितपुर महानगरपालिका–६ स्थित अरनिकोको जन्मघर पुगेका थिए । सो अवसरमा उनले वडाध्यक्ष तथा स्थानीयसँग भेटघाट गर्दै पाटनको हस्तकला प्रवर्धनलगायतका विषय उठाएका थिए, जसलाई कतिपयले चुनावी नाराजस्तै टिप्पणी गरेका छन् । १९ मङ्सिरमा पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन तथा १५ पुसमा महालक्ष्मी नगरपालिका–९ लामाटारमा स्थानीय र जनप्रतिनिधिसँग अन्तर्क्रिया गरेका थिए ।

सिद्धिपुर सामुदायिक अध्ययन केन्द्रदेखि महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा रहेका सामाजिक संस्था तथा राजनीतिक अगुवासँगको भेटघाटलाई लिएर ललितपुर–२ मा खरेलको सक्रियतालाई चुनावी दौडधुपकै रूपमा हेरिएको छ । बहालवाला मन्त्रीले स्वयं फोन गरेर भेटघाट गरिरहेको विषयले समेत चर्चा पाएको छ ।

ललितपुर–२ का एक राजनीतिक अगुवाले भने मन्त्री खरेलले अपेक्षाअनुसार समर्थन पाउन नसक्ने टिप्पणी गरे । उनका अनुसार, “मन्त्रीज्यूको गतिविधिले यही चुनाव उठ्ने तयारी देखिन्छ, तर ललितपुर–२ को आफ्नै राजनीतिक इतिहास छ । झन्डा हल्लाउँदै आउनेहरूसँग यहाँका मतदाता सजिलै लोभिँदैनन् ।”

दोलखामा जन्मिएका खरेल लामो समयदेखि ललितपुरमा बसोबास गर्दै आए पनि स्थानीय सामाजिक अभियान वा सङ्घसंस्थामा खासै सक्रिय नदेखिएको आरोप लाग्दै आएको छ । उनको सचिवालयले सार्वजनिक गरेका विवरणअनुसार गम्भीर समुद्र सेतु विद्यालयको वार्षिकोत्सव बाहेक अन्य भेटघाट अधिकांश अनौपचारिक प्रकृतिका देखिन्छन् ।

ललितपुर–२ अन्तर्गत ललितपुर महानगरपालिकाका वडा नं ६, ७, ८, ९, ११, १२, १६, १७, १९ तथा महालक्ष्मी नगरपालिका पर्छन् । खरेलको गतिविधि प्रायः यिनै क्षेत्रमै सीमित देखिन्छ । उनी प्रभावशाली स्थानीय व्यक्तिहरूको खोजी गर्दै सम्पर्कमा रहेकोसमेत पाइएको छ ।

पुस–माघको चिसोमा टोल–टोल पुगेर अन्तरिम सरकारको कामको प्रभाव मूल्याङ्कन गर्न मात्र खरेल निस्किएको नदेखिने भन्दै गैरदलीय सरकारको मन्त्रीका रूपमा चुनावी गतिविधि गर्नु उपयुक्त नभएको टिप्पणीसमेत बढ्दै गएको छ । कतिपयले चुनावी सरकार भन्नुभन्दा तत्काल राजीनामा दिनु नै उपयुक्त हुने सुझाव पनि दिएका छन् ।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार