डिजिटल दुष्प्रचारदेखि अवैध हतियारसम्मः झापामा चुनावी चुनौतीबीच दल–प्रशासनको साझा अठोट

आइतबार, १८ माघ २०८२

झापा : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापामा राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनबीच चुनावी शुद्धता कायम राख्ने विषयमा साझा समझदारी बनेको छ । तर, सामाजिक सञ्जालको दुरुपयोग, फरार कैदी र बाहिर रहेका हतियारले अझै पनि चुनावी वातावरण पूर्ण रूपमा सहज बन्न नसकेको निष्कर्ष सहभागीहरूले निकालेका छन् ।

संवाद समूह कोशी प्रदेशको आयोजनामा विर्तामोडमा सम्पन्न अन्तरक्रियामा सहभागी दलका प्रतिनिधि, प्रशासन र सुरक्षाकर्मीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन आ–आफ्नो भूमिकामा सक्रिय रहने प्रतिबद्धता जनाएका हुन् । छलफलमा निर्वाचन आचारसंहिताको कडाइका साथ पालनासँगै सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनालाई नियन्त्रण गर्नु आजको मुख्य चुनौतीका रूपमा उठाइएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचन आचारसंहिता २०८२ ले तोकेका कानुनी सीमा र दायित्वबारे स्पष्ट पार्दै २४ वटा क्षेत्र र समूहलाई आचारसंहिता अनिवार्य लागू हुने बताए । कात्तिक ४ गतेपछि मात्र जुलुस, ¥याली र कोणसभा गर्न पाइने व्यवस्था रहेकाले त्यसअघि हुने गतिविधिमाथि प्रशासनको निगरानी जारी रहेको उनको भनाइ थियो ।

सुरक्षाका दृष्टिले झापामा देखिएका जोखिमबारे प्रहरी उपरीक्षक बसुन्धरा खड्काले डिजिटल प्लेटफर्मलाई प्रमुख चुनौतीका रूपमा औँल्याइन् । सामाजिक सञ्जालको सूक्ष्म अनुगमन भइरहेको र जटिल प्राविधिक विषय केन्द्रसम्म पठाइने जानकारी दिँदै उनले सम्भावित जोखिमबारे समयमै सूचना दिन सबैलाई आग्रह गरिन् ।

दलका प्रतिनिधिहरूले आचारसंहिता उल्लंघन र सुरक्षासम्बन्धी गम्भीर प्रश्नहरू उठाएका थिए । नेकपा एमालेका एकराज कार्कीले तोकिएको समयअघि नै केही दलले घरदैलो र प्रचार थालेको आरोप लगाउँदै विधिको शासनमाथि नै चुनौती खडा भएको बताए । पार्टीभित्रै कार्यकर्तासम्म संयन्त्र बनाएर आचारसंहिता कार्यान्वयनमा जोड दिइएको उनको भनाइ थियो ।

नेपाली काँग्रेसका सचिव कृष्ण हुमागाईँले राजनीतिक प्रतिस्पर्धालाई आपराधिक गतिविधिले प्रभावित पार्न खोजिएको उल्लेख गर्दै विर्तामोडबाट लुटिएका हतियार अझै नियन्त्रणमा नआएको विषयमा चिन्ता व्यक्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजेन्द्र खनालले निर्वाचन आयोगको प्रभावकारितामाथि प्रश्न उठाउँदै आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्न पाँच तहको प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिए । राप्रपाका केशवप्रसाद ओझा र नेपाल कम्युनिष्ट पार्टीका सुमन सिंहले झापा क्षेत्र नम्बर ५ केन्द्रित गलत सूचना र हल्लाले मतदातामा त्रास फैलिएको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए ।

छलफलमा मतदाता शिक्षाको अभाव, बाहिर रहेका अवैध हतियारको जोखिम तथा पाथीभरा केबलकार विवादका कारण सम्भावित झडपले निर्वाचन प्रभावित हुनसक्ने विषय पनि उठान भयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजा आङ्थुबोले विवाद समाधान नगरे चुनावी वातावरण थप जटिल बन्ने चेतावनी दिए ।

अन्ततः सहभागीहरूले फरार कैदी र अवैध हतियार नियन्त्रण, कृत्रिम बुद्धिमत्तामार्फत फैलिने घृणास्पद अभिव्यक्ति रोकथाम र मतदाता शिक्षालाई प्रभावकारी बनाउने विषयमा सरकारसँग सहकार्य गर्ने निष्कर्ष निकाले । आचारसंहिता विपरीत गतिविधिमा संलग्न आफ्नै कार्यकर्तालाई दलहरूले आफैँ कारबाही गर्ने र निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार