इटहरी । जनता बहुमुखी क्याम्पसलाई इटहरी उपमहानगरपालिकाले कलेज बस दिने भएको छ ।
लामो समयदेखि भाडामा कलेज बस सञ्चालन गर्दै आएको जनता क्याम्पसलाई बस अनुदान दिइने भएको हो ।
उपमहानगरपालिकाले नियमित रूपमा प्रदान गर्ने शैक्षिक अनुदानमा जनता बहुमुखी क्याम्पसलाई पनि अनुदान दिने प्रतिबद्धता जनाएको छ ।
क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसँगको भेटमा शैक्षिक सहयोगका लागि माग पत्र पेस गरेको थियो ।
क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसीले मेयर पौडेललाई माग पत्र बुझाएका थिए ।
क्याम्पस प्रशासनले माग गरेअनुसार उपमहानगरपालिकाले एउटा कलेज बस दिने घोषणा गरेको समितिका अध्यक्ष विकास केसीले जानकारी दिए ।
कलेज जाने बाटोमा पर्ने कलभर्ट निर्माणका लागि १८ लाख बजेट दिने, क्याम्पसभित्र ब्लक लगाइदिने र बाटोमा तत्काल २० ट्रिप गिटी हालेर बाटो बनाइदिने मेयर पौडेलले घोषणा गरेको अध्यक्ष केसीले जानकारी दिए ।
क्याम्पस सञ्चालक समितिले निःशुल्क कलेज बस २ वटा, स्ववियु भवन निर्माण, प्राथमिक उपचार केन्द्र र स्टाफ नर्स, क्याम्पसभित्र ब्लक बिछ्याउने, कलेजको बाटोमा मिसगिटी २० ट्रिप, निर्माणाधीन प्रशासनिक भवनका लागि ५० लाख बजेट र नियमित रूपमा शैक्षिक अनुदान दिन मेयर पौडेलसँग माग गरेका थिए ।
मेयर पौडेल जनता क्याम्पसका पूर्व विद्यार्थी तथा स्ववियु सभापति हुन् ।
प्रतिक्रिया