विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ऐतिहासिक रूपमा सफल भएको दाबी गरेका छन् । उनले इतिहासकै रेकर्डयुक्त कामहरु आफू नेतृत्वको सरकारबाट भएको दाबी गरेका हुन् ।
विराटनगर विमानस्थलमा बिहीबार साँझ पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्रीले खासगरी भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका क्षेत्रमा ऐतिहासिक रेकर्डयुक्त काम सरकारले गरेको जिकिर गरेका हुन् । ‘मैले जति र जसरी सोचेको छु, त्यसरी नै सफल भइयो भन्ने मेरो पनि दाबी छैन ।
किनभने गठबन्धन सरकारका धेरै सीमाहरु हुन्छन्, अफ्ठयारा हुन्छन्। सबैलाई मिलाएर लैजाने जिम्मेवारीको कुरा हो,’ उनले भने, ‘तर, यो अवस्थामा खासगरी भ्रष्टाचारकाविरुद्ध, सुशासन र समृद्धिका पक्षमा जेजति कामहरु भएका छन्य । यसले मुलतः सफल भएँ भन्ने हो । यसका ऐतिहासिक रेकर्डहरु बनेका छन् ।’
प्रधानमन्त्री प्रचण्डले अफ्नो कार्यकालको उपलब्धिबारे इतिहासका कयौं रेकर्डहरु रहेको दाबीसमेत गरे । भने, ‘अहिले केही मिडिया, तपाइँहरु पनि कुरै नबुझी लेख्नुहुन्छ कि क्या हो मलाई थाहा छैन । तर, सुरुदेखिको प्रत्येक घटना हेर्नुभयो भने कयौं ऐतिहासिक रेकर्डहरु बनेका छन् । यो अप्ठेरो अवस्थामा पनि । सामाजिक न्यायको विषयमा। मिटर ब्याज, नागरिकता समस्या जस्ता कुरामा। जटिल थियो नि यो कुरा।’
भ्रष्टाचारविरुद्ध आफू नेतृत्वको सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी प्रधानमन्त्रीको छ। सुशासनका पक्षमा इतहासमा यो लेभलको कारबही प्रक्रिया कहिल्यै नचलेको उनको भनाइ छ । ‘भूमाफियाकाविरुद्ध पनि कारवाही भयो। अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले सफल भयौं। सफल मात्रै होइन, सरकार ऐतिहासिक रुपले सफल छ भन्न सकिन्छ’ प्रचण्डले भने ।
प्रधानमन्त्रीले सरकार अब आक्रामक ढंगले काममा लागिपर्ने पनि दाबी गरे। ‘अब अलि अफेन्सिभ तरिकाले जाने भन्ने सोचिरहेको छु। खासगरी विकास निर्माण र जनातलाई सेवा दिने सवालमा मैले प्लान सोचेको छु। मन्त्रीहरुलाई पनि टार्गेट दिने हो। त्यो फूलफिल भएन भने कडै रुपले गइन्छ,’ उनले भने ।
एनसेल प्रकरणबारे आफूले तथ्यहरुसहित संसदीय समितिमा धेरै कुरा प्रष्ट पारेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘यो विषय धेरै नकोट्याउँनुस्। यसरी वातावरण असहज बनाउने काम नगरौं ।’
संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको पछिल्लो धार्मिक अभिव्यक्तिलाई आफूले गम्भीर रुपमा लिएको प्रधानमन्त्रीको भनाइ छ। ‘मैले यो विषयलाई गम्भीर रुपमा लिएको छु। एक चोटी मन्त्रीसँग कुरा गरेपछि कसरी जाने अन्तिम निर्णय हुन्छ। जसरी बाहिर आइरहेको छ, त्यो गम्भीर नै छ,’ उनले भने।
प्रतिक्रिया