तेस्रो संस्करणको इलाम साहित्य महोत्सव चैत्र १६ र १७ गते हुने 

विहीबार, ०८ चैत्र २०८०
इलाम / सदरमुकाममा आगामी चैत्र १६ र १७ गते इलाम साहित्य महोत्सव सञ्चालन हुने भएको छ ।
इलाम नगरपालिकाअन्तर्गतको साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजना र इलाम साहित्य समाजको संयोजनमा साहित्य महोत्सव हुने भएको हो ।
साहित्यको मार्फत इलामको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकको भनाई छ । कार्यक्रममा साहित्यसँगै पर्यटन र राजनैतिक बहस समेत हुने भएको छ ।
महोत्सवको उद्घाटन १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्ने कार्यक्रम तय भएको छ ।
पहिलो दिनको मुख्य सम्भाषणमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको उपस्थिति रहने बताइएको छ ।
 ‘सङ्घीयता : यस्तै वा कस्तो’ विषयमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुबेदीबिच बहस हुनेछ ।
सो पछि सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको कविता शीर्षकमा बहस हुने जनाइएको छ ।
१६ गते अर्थात् महोत्सवको पहिलो दिन नै डा. अरुण गुप्ता र राजन मुकारुङको ‘मिथकदेखि मिथकसम्म’ विषयमा बहस हुने छ ।
  ‘आख्यान : अन्तिम पात र नयाँ पालुवा’ विषयमा नारायण ढकाल र बसन्त बस्नेतबिचको बहस हुनेछ जनाइएको छ । त्यस्तै  ‘पोइट्री इन मुभमेन्ट’मा राजा पुनियानीको प्रस्तुति रहने साहित्य कला साहित्य, कला, सङ्गीत प्रतिष्ठानका संयोजक प्रकाश थाम्सुहाङले जानकारी दिए ।
उनका अनुसार ‘बदलिँदो विश्व : फेरिँदो स्थानीयता’ विषयमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबिच बहस हुनेछ । ‘चारखोलका रङ्गमञ्च’मा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस हुने बताइएको छ ।
दोस्रो दिन अर्थात् चैत्र १७ गते  ‘कविताका स्वर’शीर्षकमा गद्य कविता वाचन हुने छन् ।
१० वटा कविता प्रस्तुत हुने इलाम साहित्य समाजका संयोजक सुरेन्द्र राईले बताए ।  ‘छन्द सुगन्ध’ शीर्षकमा कविता वाचन समेत सोही दिन हुने छ ।
सोनाम भुटिया र दीपेन्द्र कर्णबिच बिच  ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा बहस हुने छ ।
‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्र किशोर र गौरी तमुबिच बहस सञ्चालन हुने जनाइएको छ ।
अभि सुवेदीका साथमा  ‘उमेरको कथा’ विषयमा दीपक सापकोटासँगको संवाद हुने र सो पश्चात्  ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाम र रामबाबु गुरुङबिच बहस सञ्चालन हुने छ ।
‘अक्षर मोह : अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयबिच कुराकानी हुनेछ । ‘सीमा साहित्य र संस्कृति’ शीर्षकमा डा।कविता लामा, गणेश खनिया र दीपक लुंगेलीबिच संवाद हुने छ ।
‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा.ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा.अस्मिता विष्टबिच बहस सञ्चालन गरिने छ ।
‘कस्तो राजनीति’ शीर्षकमा डा.सिके राउत, प्रदीप ज्ञवाली, विश्वप्रकाश शर्माबिच बहस हुनेछ ।
अन्तिम दिन गजल साँझ सञ्चालन हुने छ ।
जसमा छनौट गरेर ११ वटा गजल प्रस्तुत गरिने छ, र सोही दिन साहित्य महोत्सव समापन हुने जनाइएको छ ।
महोत्सवमा पेन्टिङ गर्ने कलाकारहरुको समेत उपस्थिती रहने जनाइएको छ ।
ब्यवसायिक कम्पनीका प्रतिनिधि बिच समेत इलामको चर्चा गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम समापनका लागि १८ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ ।
साथै इलाम साहित्य महोत्सवको यो तेस्रो संस्करण हो । यस अघि ७६ सालमा र ८० सालमा समेत इलाम साहित्य महोत्सव भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार