इटहरी - शनिवार (आज)देखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उद्घाटन खेलमा साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
उद्घाटन खेलमा सगरमाथाले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
सगरमाथाका लागि खेलको ३ मिनेटमै स्टेपेन समीर विनाङले सुरुआती गोल गरे । खेल सुरुआत भए लगत्तै गोल गरेर हौसिएको सगरमाथाले खेलको ३५ औँ मिनेटमा अर्को गोल गर्न सफल भयो ।
सगरमाथाका लागि विमल घर्ती मगरले दोस्रो गोल गरेका थिए । पहिलो हाफमा २–० गोलले अग्रता लिएको सगरमाथाले हाफपछि पनि १ गोल गर्ने अवसर पायो ।दोस्रो हाफपछि पनि सगरमाथाका लागि उनै विमल घर्ती मगरले अर्को गोल गरेका थिए ।
एपीएफका लागि भने अनीश महर्जनले शान्तवना गोल गरे । पहिलो हाफदेखिनै दबाबमा रहेको एपीएफले गोल गर्ने पटक पटक अवसर पाए पनि गोल गर्नबाट चुकेको थियो । खेलको म्यान अफ दि म्याच सगरमाथाका विमल घर्ती मगर घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा भएको गोल्डकपमा भारतको एकसहित आठ वटा टिम सहभागी छन् ।
क्लबका अध्यक्ष सन्त डुम्जनका अनुसार यस वर्षदेखि रात्रिकालीन फुटबल प्रतियोगिता सुरु गरिएको हो । साँझ ७ बजेदेखि सुरु भएको प्रतियोगितामा पाँच वटा ‘फल्ड लाइट’ जडान गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ ।
विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन् ।
प्रतिक्रिया