काठमाडौं / नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालत जाने तयारी थालेको छ ।
नेकपा (एमाले) का संसदीय दलका नेता अधिकारी आइतबार मुख्यमन्त्री नियुक्त भएका छन् । उनी सभामुख कृष्णप्रसाद धितालको सहित समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
सभामुखको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भन्दै कांग्रेस सांसदहरू सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् । सांसद जितबहादुर शेरचनले भने, “हामी कानूनी लडाइँमा उत्रिन्छौँ, सर्वोच्च अदालत जान्छौँ । त्यसको तयारीमा छौँ ।”
कोशी प्रदेश प्रकरण स्मरण गर्दै सांसद शेरचनले भने, “असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त हुनु हुँदैन भनेर हामीले सचेत गराएकै हौँ तर, सुनिएन । अब यसपछि हामी न्यायिक लडाइँमा नै जानुपर्छ ।”
सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी, संविधानविद् भन्छन्- सभामुख दलको सङ्ख्यामा जोड्नु असंवैधानिक हो
यसअघि कोशी प्रदेशमा सभामुख बाबुराम गौतमको समेत समर्थनमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका थिए । पछि सभामुख गौतमले राजीनामा मात्रै दिनुपरेन, मुख्यमन्त्री थापासमेत सर्वोच्च अदालतद्वारा बर्खास्तीमा परे ।
गण्डकीमा कोशी-घटनाकै पुनरावृत्ति देखिएको संविधानविद्हरूले बताएका छन् । संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्, “सरकार बनाउने प्रक्रियामा सभामुखको सङ्ख्या जोड्नु नै गलत हो । यो असंवैधानिक हो ।”
प्रतिक्रिया