इलाम २ उपनिर्वाचन कुन उम्मेद्धारको उमेर कति  ?

सोमबार, २६ चैत्र २०८०
इलाम / २५ वर्षे अर्जुनबहादुर साही इलाम क्षेत्र २ को उपनिर्वाचनका उम्मेदवार छन् । आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा मनोनयन गराएका २० उम्मेदवारमध्ये अर्जुन उमेरले सबैभन्दा कान्छा हुन् । ‘राजनीतिमा अहिले युवाकै खाँचो छ,’ उनी भन्छन्, ‘मतदाताले अहिले युवा उम्मेदवार नै खोज्छन् ।’ २९ वर्षे योगेन्द्र गुरुङ पनि आउँदो उपनिर्वाचनमा यही क्षेत्रको उम्मेदवार बनेका छन् । उनी पनि युवाको आवश्यकता र मतदाताको रोजाइमा पर्न सकिने दाबी गर्छन् । ३१ वर्षे मिलनकुमार योङहाङ लिम्बू पनि यो क्षेत्र उपनिर्वाचनका उम्मेदवार छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार बनाएको हो । कुनै पनि दलमा आबद्ध नभई निर्वाचनमा होमिएको बताउने लिम्बूलाई रास्वपाले उम्मेदवार बनाएको हो । ‘अन्य दलका क्रियाकलाबाट दिक्क मतदाताले अब मलाई रोज्नेछन्,’ लिम्बू भन्छन्, ‘म यहीँको गाउँले उम्मेदवार भएकाले पनि मतदाताले एक पटक मेरो विजय हेर्न चाहेका छन् ।’ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीका साझा उम्मेदवार सुहाङ नेम्बाङ ३३ वर्षका छन् । ‘ अहिलेको अवस्थामा इलाम २ मा मेरो विजय निश्चित नै भएको छ,’ उनले भने, ‘सबै उम्मेदवार अब्बल हुनुहुन्छ तर धेरैतर्फबाट हाम्रो जित हुने निश्चित छ ।’ अर्का स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंको पनि उमेर ३३ वर्ष नै छ । यो क्षेत्रमा एमाले नेता सुवासचन्द्र नेम्बाङले २०५६ सालयताका सबै चुनाव जितेका थिए । नेम्बाङ उम्मेदवार बनुन्जेल प्रायः ५० वर्ष उमेर कटेका व्यक्ति नै यो क्षेत्रका उम्मेदवार बनिरहेका थिए । यो पटक भने उम्मेदवार बन्नेमा युवाको सङ्ख्या बढी देखिएको छ । मनोनयन दर्ता गराएकामध्ये नेसनल रिपब्लिक नेपाल दलका धनराज राना मगर ३६ वर्षका छन् । नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार दीपेश बोहोरा ३७ वर्षका छन् । स्वतन्त्र उम्मेदवार राज बस्याल ४०, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ ४४, राप्रपाका लक्ष्मी गुरुङ ४५, नेकपा ९एस)का जितबहादुर राई ४६, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ४८ र स्वतन्त्र उम्मेदवार मनोज निरौला ४९ वर्षका छन् । मङ्गोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू ५३, नेपाली जनता दलका रेसमबहादुर सुनुवार ५४, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम ५६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त सिंह ६४ वर्षका छन् । ६८ वर्षे डकेन्द्रसिंह थेगिम र त्यही उमेरका गणेशबहादुर चौहान २० उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ हुन् । डकेन्द्र पहिचान पक्षधर समूहको तर्फबाट साझा स्वतन्त्र उम्मेदवार हुन् भने गणेशबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार हुन् । लामो समय शिक्षण पेसामा रहेर राजनीतिमा आएका डकेन्द्र यो पटक इलाम क्षेत्र २ का मतदाताले पहिचान पक्षधर उम्मेदवारलाई जिताउने दाबी गर्छन् । ‘उमेरले मलाई कुनै काममा बाधा गर्दैन,’ नेकपा - एमालेका पूर्व नेता डकेन्द्र भन्छन्, ‘राजनीतिमा अनुभव पनि ठूलो कुरा हो ।’ निर्वाचन कार्य तालिकाअनुसार अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ लाई राखिएको छ । चैत २८ देखि वैशाख १२ सम्म प्रचार अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ । संविधानसभा अध्यक्ष तथा पूर्व सभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आउँदो उपनिर्वाचनका लागि २० दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार