छोराका कारण आमाविरुद्ध पनि भ्रष्टाचार मुद्दा

सोमबार, २६ चैत्र २०८०
काठमाडौँ-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले घुस लिएर उनकी आमाका नाममा जग्गा किनेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले सरोजले गैरकानुनी सम्पत्ति कमाएको भन्दै उनकी आमालाई पनि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। अख्तियारले सरोजले उनकी आमा जनक नन्दनी भट्टराईको नाममा गुण्डुमा २–९–०–१ र ०–२–१–० क्षेत्रफल भएको जग्गा खरिद गरेको आरोपपत्रमा दाबी गरेको छ। बिक्रेताको बैंक खातामा सरोजकै खाताबाट रकम जम्मा गरेको बैंक भौचरबाट देखिएको आरोपपत्रमा उल्लेख छ। लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस मागेको अख्तियारको दाबी छ। सरोजले कोषमा ठेक्का पट्टाको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस मागी आमा जनकनन्दनीको नाममा जग्गा खरिद गरेको अख्तियारको आरोप छ। अख्तियारले सरोजलाई ८० लाख रूपैयाँ बिगो, कैद सजाय, जरिवानासमेत मागदाबी गरेको छ। साथसाथै उक्त जग्गासमेत जफतको लागि मागदाबी लिइएको छ। अख्तियारले सरोजकी आमालाई समेत मुख्य कसुरदार मान्दै ८० लाख रूपैयाँ बिगो, जरिबाना, कैद सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार