आठ महिनामा पाथीभरा मन्दिरमा १ लाख ६८ हजार दर्शनार्थी

आइतबार, ०२ बैशाख २०८१
ताप्लेजुङ / आठ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १ लाख ६८ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । गत साउन देखि चैत मसान्त सम्ममा सो सङ्ख्यामा दर्शनार्थीले दर्शन गरेका हुन् । चालू आर्थिक वर्षको ९ महिना पूरा हुँदा १ लाख ६८ हजार ४ सय ६८ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको जनाइएको छ । सबैभन्दा बढी चैत महिनामा ५२ हजार ४ सय ५५ जनाले मन्दिरको दर्शन गरेका छन् । कात्तिक महिनामा ४९ हजार १ सय ६३ जनाले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले जानकारी दिए । उनका अनुसार साउन महिनामा १ हजार १ सय २२, भदौमा ५ हजार र असोजमा १० हजार ३ सय ४३ जनाले मन्दिरको दर्शन गरेका थिए । यस्तै मङ्सिरमा २० हजार ४ सय १६, पुसमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १ र फागुनमा १७ हजार ९ सय १२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ । चैत महिनामा मात्र ७५ लाख बढी रुपैयाँ जम्मा भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । कार्यकारी निर्देशक हाङवाङका अनुसार चैत महिनामा ७५ लाख ७ हजार १ सय ५ रुपैयाँ भेटी बापत नगद सङ्कलन भएको छ । क्षेत्र विकास समितिले पछिल्लो समय भेटीबापतको सङ्कलित रकम मासिक रूपमा सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार