आक्रमक प्रचार गरिरहेका कांग्रेस उम्मेदवार डम्बर खड्का यसपटक आफ्नै पार्टीको एकताबद्ध अभियानको साथ पाएका छन् । इलाम कांग्रेसमा सांगठनिक रुपमा बलिया र प्रभावशाली मानिएका भेषराज आचार्यको बलियो साथ लिएर खड्का केशव थापा, हिमालय कर्मचार्य, नगेन्द्र कुमाललगायतको साथमा घरदैलो गरिरहेका छन् ।मुख्य प्रतिस्पर्धी दलबाट उम्मेदवार बनेका युवाहरु राजनीतिमा ‘नव प्रवेशी’ भएकाले पनि डम्बरले आफूलाई परिपक्व र अनुभवी उम्मेदवारको रुपमा प्रश्तुत गरिरहेका छन् । खड्काले अघिल्लो पटक भन्दा यसपालि चुनाव जित्न सहज भएको दाबी गरेका छन् । यसअघि प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदमा चुनाव लडिसकेका खड्का अन्यभन्दा मतदातामाझ लोकप्रिय भएकाले पनि सहज महसुस गरिरहेका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भन्दा यस पटक कांग्रेसलाई प्रतिस्पर्धा गर्न सहज भएको बताए । खड्काले भने,‘अघिल्लोपटक राष्ट्रियरूपमा स्थापित एमाले नेता सुवासचन्द्र नेम्वाङसँग चुनाव लड्नुपर्दा माहौल फरक थियो । अहिले इलामको भूगोल, अवस्थिति र मतदाताको मनोविज्ञान राम्रोसँग नबुझेका कम अनुभवी युवाहरूसँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्दा केही सहज भएको छ,’ उनले अगाडि भने,‘यस पटक कांग्रेसलाई हार्ने छुट छैन । मेरो काँधमा पार्टीको भविष्य छ ।’ हुनपनि ह्याभी वेट सुवास नेम्बाङसँग झिनो मतले पराजित भएका खड्काले यस पटक जसरी चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । गत २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खड्का एमाले उपाध्यक्ष नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।
यसपटक खड्काले चुनाव जित्न सहज भएको दाबी गर्नुको पछाडि थुप्रै आधारहरु कांग्रेसले प्रस्तुत गरेको छ । विशेषत मुख्य प्रतिस्पर्धी एमालेले राजनीतिमा अनुभव नै नभएका र वंशको राजनीतिबाट उदाएका सुहाङ नेम्बाङलाई इलामेली मतदाताले नचिनेकाले आफूलाई सहज महशुस भएको दावी गरिरहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु इलाम नबसेको डेढ दशक नाघिसकेकाले नयाँ उम्मेदवारलाई मतदाताले विश्वास नगर्ने खड्काले दाबी गर्दै आएका छन् ।त्यस्तै पहिचानवादीहरुका तर्फबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिम पहिले एमालेमै रहेर लामो राजनीति गरेका नेता भएकाले एमालेको सैद्धान्तिक धेरै मत थेगिङले काट्ने भएकाले डम्बरले सहज महसुश गरेका छन् । बहुसंख्यक आदिबासी जनजाती समूदाय बसोबास गर्ने चुलाचुली, माङ्सेबुङ, माई क्षेत्रमा रहेका जनजाती समुदायका मतदाताहरुमध्ये कांग्रेसको सैद्धान्तिक मत नबिग्रिएकाले खड्काले सहज ठानेका छन् । त्यस्तै प्रतिस्पर्धामा रहेका राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राईबाट अफूलाई ठूलो असर नगर्ने उनको दाबी छ । कांग्रेसको मत कतै डाइभर्ट नभएकाले सैद्धान्तिक मत र केही एमालेको मत चोर्दा आफू सहजै विजयी हुने खड्काको अनुमान छ । माओवादी केन्द्र लगायतका केही दलहरु एमालेसँग गठबन्धन गरेको भएपनि माओवादी केन्द्र र एमालेभित्रै बढेको अन्तरद्धन्द्धको फाइदा कांग्रेसले लिने अनुमान सुरु भइसकेको छ । त्यति मात्र होइन एमालेबाट उम्मेदवार बनाइएका सुहाङ राजनीतिमा उदाउँदा जिल्लामा दशकौंदेखि दुःख गरेका नेताहरुको राजनीतिक करियरमै धक्का लाग्ने भएकाले एमालेभित्र ठूलो ‘विद्रोह’को खतरा देखिएको कांग्रेसहरुले अनुमान गरेका छन् । त्यस्तै प्रतिस्पर्धी उम्मेदवार सबै आदिवासी जनजाती भएकालो खसआर्य समूदायको अधिकांश मत रुख चिन्हमा खस्ने साथै आदिबासी जनतातीको भोट बाँडिएर आफूतिर आउने खड्काले अनुमान गरेका छन् । कांग्रेसले असहज महसुश गरेको चुलाचुली, माई र माङसेबुङ नगरपालिकाको मत यसपाली बृहत रुपमा बाँडिने भएको र कांग्रेसको मत नबिग्रेकाले खड्काले सहज महशुस गरेका छन् । रास्वपाका मिलन लिम्बुले दल परिवर्तन गरेकाले ‘अवसरवादी’को आरोप खेपिरहेको साथै रास्वपाका केन्द्रीय नेताहरु सहकारी कान्ड र भ्रष्टाचारमा मुछिएकाले तल्लो स्तरका जनतामा नकरात्मक सन्देश प्रवाह भइसकेकाले कांग्रेसले सहज परिणाम निकाल्ने अनुमान गरेको छ । विशेषगरी यसपाली धेरै संख्यामा उम्मेदवार, सबै जनजाती उम्मेदवार भएकाले आफ्नो सैद्धान्तिक मतले नै पनि कांग्रेसले राम्रो परिणाम निकाल्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया