उपनिर्वाचनको कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?

विहीबार, ०६ बैशाख २०८१
इलाम / आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुन लागेको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा खटिएका छन् । आयोगले बुधबार ती क्षेत्रका लागि मतपत्र छपाई गरेर पठाइसकेको छ । आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि विभिन्न तहमा संयन्त्र बनाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । शर्माले भने– ‘आचारसंहिता अनुगमनका लागि आचार संहिता २०७९ अनुसार विभिन्न संयन्त्रहरू बनाइएको छ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रमुखहरू रहने गरी एउटा समिति रहेको छ । आचारसंहिता अनुगमन अधिकृतको रूपमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई आयोगले तोकेको छ । जिल्लामा आचारसंहिता उल्लङ्घनका काम भएमा तत्काल अनुगमन गर्ने, रोक्ने, बन्द गर्न आदेश दिने र कारबाही गर्नुपर्‍यो भने आयोगमा सिफारिस गरेर पठाउने काम गर्छ ।’ यस्तै आयोगबाट निर्वाचन आयुक्तको संयोजकत्वमा एउटा समिति रहेको र आयोगका विभिन्न तहका कर्मचारीहरू समेत अनुगमनमा गइरहेको प्रवक्ता पौड्यालले जानकारी दिए । उनले भने– ‘मंगलबार आयोगले जिल्लास्थित आचारसंहिता अनुगम समितिलाई निर्देशन दिएको छ । आयोगमा पनि सामाजिक सञ्जालमार्फत हुने भ्रामक अभिव्यक्ति, द्वेषपूर्ण अभिव्यक्ति, घृणास्पद अभिव्यक्तिहरूको सन्दर्भमा त्यस्ता सामाजिक सञ्जाल अनुगमन गर्नका लागि एउटा कमिटी गठन पनि भएको छ ।’ यस्तै निर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा सञ्चालन गर्न आमसञ्चार माध्यमलाई निगरानी गर्नका लागि आयोगले प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार