इलाम / यही वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र २ मा मतदाता शिक्षा सुरु भएको छ ।
यसपटक जिल्ला निर्वाचन कार्यालयले निर्वाचन हुने छ पालिकामा एक–एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकेको छ ।
यी सम्पर्क व्यक्तिमार्फत स्वास्थ्य स्वंयमसेविकालाई मतदाता शिक्षाका लागि खटाइएको छ ।
वैशाख ११ सम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि इलाम २ मा ८६ स्वास्थ्य स्वयंसेविका खटिएका छन् ।
प्रत्येक निर्वाचन सम्पर्क व्यक्तिले आफ्नो पालिकामा खटिने स्वंयमसेविकालाई मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण गरेर मतदाता शिक्षामा खटाएको कार्यालय इलामले जनाएको छ ।
यस पटक इलाम नगरपालिकामा २२, देउमाई नगरपालिकामा १९, माई नगरपालिकामा छ, फाकफोकथुम गाउँपालिकामा १४, चुलाचुली गाउँपालिकामा १३ र माङ्सेबुङ गाउँपालिकामा १२ स्वयंसेविका मतदाता शिक्षाका लागि खटिएका छन् ।
‘एक्लो र टाढा घर छ भने घरैमा पुगेर, सम्भव भएसम्म टोल–टोलमा भेला गराएर मतदाता शिक्षा दिनु भनिएको छ,’ फाकफोकथुम गाउँपालिकाका निर्वाचन सम्पर्क व्यक्ति माधवप्रसाद दाहालले भने, ‘हाट बजार, विवाह, व्रतबन्ध, पुराणजस्ता धार्मिक कार्यमा पनि धेरै मानिस भेला भएका स्थानमा मतदाता शिक्षा दिनू भनिएको छ ।’
कोही भोट हाल्दिनँ भन्छ भने उसलाई पनि प्रत्येक भोटको महत्त्व बुझाउन स्वयंसेविकाहरूलाई आग्रह गरिएको दाहालले बताए ।
यस पटक पालिकामा निर्वाचन सम्पर्क व्यक्ति र मतदाता शिक्षा दिने स्वयंसेविकासँग पनि सोझो सम्पर्क भएकाले मतदाता शिक्षा प्रभावकारी हुने अपेक्षा गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बताए ।
इलाम २ का छ पालिकाका ४२ वटा वडामा १५ गते मतदान हुनेछ ।
यो क्षेत्रमा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष र अन्य दुई गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् ।
प्रतिक्रिया