विनोद चौधरीविरुद्ध सङ्गठित गिरोह सक्रिय, योजनाबद्ध रूपमा मिडियामार्फत प्रहार

शनिबार, ०८ बैशाख २०८१
काठमाडौं -नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीविरुद्ध सङ्गठित रूपमै मिडियामार्फत भ्रम सिर्जना गर्ने काम भएको छ । विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत सांसद एवं नेपालका प्रतिष्ठित उद्योगपति विनोद चौधरीविरुद्ध भ्रमपूर्ण समाचार सामग्री सम्प्रेषण गर्ने काम नियमित जसो हुन थालेको हो । उनी विरुद्ध सङ्गठित रूपमै मिडियामार्फत आक्रमणको सिलसिला पछिल्लो समय झनै बढेको छ । बाँसबारी जग्गा प्रकरणदेखि सांसद चौधरीविरुद्ध मिडियादेखि सामाजिक सञ्जालसम्म प्रयोग गरेर भ्रम सिर्जना गर्ने र उनको चरित्र हत्या गर्ने काम भइरहेको हो । ‘जसरी एकपछि अर्को गरी योजनाबद्ध रूपमा मिडिया र सामाजिक सञ्जालमार्फत विनोद चौधरीमाथि प्रहार गर्ने काम भइरहेको छ, यो सुनियोजित र सङ्गठित रूपमै भइरहेको छ,’ पत्रकारीताका अध्यापक यज्ञ न्यौपानेले भने, ‘एउटा व्यक्तिविरुद्ध भ्रम फैलाएर उसको चरित्र हत्या गर्ने मनसायले यो सबै भएको पाइन्छ ।’ बाँसबारी घटनाकै विषयमा सत्य तथ्य नबुझी उद्योगपति विनोद चौधरीविरुद्ध मिडियामार्फत एकोहोरो प्रहार गरिएको थियो । त्यस्तै विनोद चौधरी नै नजोडिएको विषयमा पनि चौधरी ग्रुपको नाम लिने र विनोद चौधरीको तस्बिर दुरुपयोग गरेर मिडियामार्फत प्रचार गर्ने, सार्वजनिक छवि र चरित्र धमिल्याउने गरी काम हुन थालेका हुन् । यस क्रममा वीरगन्जको घटना पनि बाहिर आएको छ । जुन घटना नितान्त भ्रमपूर्ण र झुटो भएको बताइएको छ । वीरगञ्जमा मसानघाट नै चौधरी ग्रुपले कब्जा गरेको कपोलकल्पित समाचार बनाउनु उनी विरुद्ध प्रहारको अर्को शृङ्खला हो । विभिन्न स्वार्थ समूहहरूले विभिन्न घटनामा चर्चाका लागि चौधरीको नाम जोड्ने काम गर्दै आएका छन् । पछिल्लो समय राज्य पक्षबाटै निशानामा परेका काँग्रेस नेता चौधरीमाथि मिडियामार्फत पनि प्रहार सुरु भएको हो । चौधरीमाथिको यो सुनियोजित प्रहार राज्य संरक्षित हो कि होइन यस्तै भन्न त सकिन्न तर यो सामान्य विषय भने होइन, न्यौपानेले भने । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका उद्योगपति चौधरीमाथिको योजनाबद्ध प्रहारको अन्तर्य के हो, त्यो भने खोजको विषय बनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार