इलाम -२ मा काँग्रेसले चुनाव जित्ने ज्ञानेन्द्र शाहीको भनाई

मंगलबार, ११ बैशाख २०८१
इलाम - वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदैंछ । उपनिर्वाचनको प्रचार प्रसारका लागि दलहरू निकै दौडधुप गरिरहेका छन् । इलाम-२ को उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार उत्रिएका छन् । उपनिर्वाचनमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मङ्गोल नेशनल अर्गनाइजेशन, राप्रपा नेपाल, जनमुक्ति पार्टीजस्ता पहिलेदेखिका शक्तिहरू सहित केही नयाँ दल र स्वतन्त्र उम्मेदवारहरू मतदातासँग भेटघाट र कुराकानीमा व्यस्त छन्, मतदाताको ध्यान आफूतिर खिच्ने सक्दो प्रयास गरिरहेका छन् । नेपाली काँग्रेसका डम्बर खड्का, एमालेका उम्मेदवार सुहाङ नेम्बाङ, पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका उम्मेदवार जित बहादुर राई लगायतका उम्मेदवारहरू चर्चामा छन् ।

इलाम-२ को मतदाता सङ्ख्या

इलाम-२ मा इलाम नगरपालिकाको वडा १० बाहेक सबै, देउमाई नगरपालिकाका सबै वडा र माई नगरपालिकाका ६, ७ र ८ वडा छन् भने चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वटा वडा छन् । इलाम नगरपालिकाको १० वडा बाहेक ३४ हजार ४५, देउमाई नगरपालिकामा २६ हजार ३६५ र माई नगरपालिकाका ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता छन् । यसैगरी चुलाचुली गाउँपालिकामा १८ हजार ५४५, माङसेबुङ गाउँपालिकामा १२ हजार ५३६, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३०२ गरी कुल १ लाख १५ हजार ८८९ मतदाता छन् । कुल मतदातामध्ये पुरुष ५९ हजार १८ जना, महिला ५६ हजार ८६९ जना र अन्य २ जना रहेका छन् । प्रत्येक पालिकामा पनि महिला भन्दा पुरुष मतदाताकै सङ्ख्या बढी छ ।

राप्रपाको प्रवक्ता ज्ञानेन्द्र शाहीको विश्लेषण चर्चामा

भन्छन्, ‘रास्वपाको बिजोक हुनेवाला छ, रास्वपा पाँचौँ हुने भयो र गृहमन्त्री रवि लामिछानेले राँकेमा भाषण गर्दा २५ जना मात्र थिए, त्यही ठाउँमा मैले बोल्दा डेढ सय मानिस आए ।’ यसैबिच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि इलाम-२ को उपनिर्वाचनका चुनावी कमान्डर ज्ञानेन्द्र शाहीले उपनिवार्चनमा गरेको भाषण र अनौपचारिक कुराकानी र निर्वाचनका बारेमा गरेको चुनावी विश्लेषण यति बेला इलामेली जनतामाझ चर्चित बनेको छ । राप्रपाका सङ्घीय सांसद तथा प्रवक्ता शाहीले यो उपनिर्वाचनमा राप्रपाको मतमा उल्लेख्य सुधार भएको दाबी गर्दै अहिलेको इलाम-२ को राजनीतिक अवस्थामा मुख्य प्रतिस्पर्धा काँग्रेस र एमालेबिच नै रहेको स्वीकार गरे । उनी इलाममा खटिएर पार्टीका उम्मेदवार लक्ष्मी गुरुङको पक्षमा भोट माग्दै भाषण गरिरहेका छन् । अघिल्लो संसदीय चुनावमा मोटामोटी ५०० मात्र भोट ल्याएको राप्रपाले यस पटकको उपनिर्वाचनमा उनले केही परिदृश्य मिलेमा राप्रपाले चुनावै जित्न पनि सक्ने महत्त्वाकाङ्क्षी विश्लेषण प्रस्तुत गरे । शाहीले उपनिर्वाचनको विश्लेषण गर्दै, एक कदम अघि बढेर रवि लामिछाने नेतृत्वको रास्वपाको भने बिजोक देखिएको दाबी गरे । शाहीको बुझाइमा रास्वपाको निर्वाचन प्रचार प्रसारको सभाले नै उसको बिजोक हुनेवाला देखाइसकेको छ । उनले पाँचथर जिल्लाको राँकेमा रास्वपाको सभाको उदाहरण दिदैं भने, ‘रवि लामिछानेको राँकेको आमसभा हेर्नुस् त, उहाँ राँकेमा २५ जनाको बिचमा भाषण गरेर फर्किनुभयो । म त्यहाँ जाँदा र भाषण गर्दा डेढ सय मानिस थिए ।’ उनको बुझाइमा, इलाम २ मा रास्वपाको सङ्गठन शून्य जस्तै रहेको भन्दै घण्टीको चर्चा टेलिभिजन र सामाजिक सञ्जालमा मात्रै भएको तर फिल्डमा उनीहरूको बिजोक देखिएको छ । घरदैलोमा भाषणका क्रममा शाही लामिछानेविरुद्ध उत्रिएका छन् । पहिचानवादी र पहिचान विरोधी दुबैले घण्टीलाई भोट नहाल्ने शाहीको विश्लेषण छ । राप्रपाको प्रहार रास्वपालाई, कट्टर पहिचानवादीको प्रहार एमालेलाई, काँग्रेस नरम बनेर मतदाता फकाउँदै २०७९ मंसिरमा चुनाव जित्दा सुवासचन्द्र नेम्बाङले ३० हजार २० मत पाएका थिए । उनीभन्दा १ सय १४ मत कम पाएर काँग्रेसका उम्मेदवार डम्बर खड्का पराजित थिए । अहिले नेकपा एमालेले आफ्नो ७ देखि १० प्रतिशतसम्म मत पहिचान पक्षधर उम्मेदवार थेगिमलाई जान सक्ने आकँलन गरेको छ । त्यस्तै, कांग्रेसतर्फको करिब १० प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने बुझाइमा काँग्रेस रहँदा एमालेतर्फकै ५ देखि ७ प्रतिशत मतसमेत रास्वपा उम्मेदवारतर्फ जाने सम्भावना देखिएको छ । यहाँ आफ्नै उम्मेदवार नभएको माओवादीको मत भने बाँडिदैंछ । विगतमा काङ्ग्रेससँग गठबन्धनमा रहेको माओवादी केन्द्र अहिले एमालेसँग नयाँ गठबन्धनमा रहेको छ । तर पनि माओवादी समर्थकहरूमध्ये कतिपयले पहिचानवादीका उम्मेदवार थेगिमको चुनाव चिह्न मुढामा, कतिपयले स्थानीय भावना बुझेको उम्मेदवार भन्दै रुखमा र केहीले अन्य चिन्हमा समेत मत हाल्न सक्ने सम्भावना छ । एमालेसँग आफ्नो मुख्य प्रतिस्पर्धा हुने ठानिरहेको काँग्रेसको आकँलन पनि एमालेकै जस्तो छ । अर्थात् काँग्रेसले रास्वपा र राप्रपालाई, एमालेले काँग्रेस र स्वतन्त्र उम्मेदवार थेगिमलाई आफ्नो चुनौती मानेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार